संसद् बैठक बहिस्कार गरेर हिडेका रास्वपा सांसदहरू किन फर्किए ?

संसद् बैठक बहिस्कार गरेर हिडेका रास्वपा सांसदहरू किन फर्किए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आजबाट सुरु भएको प्रतिनिधि सभाको हउँदे अधिवेशनको पहिलो बैठक बहिस्कार गरेर हिडे । उनीहरूको विरोधकाबीच सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गर्दै कार्यसूची अगाडि बढाएपछि बैठक बहिस्कार गरेर बैठक कक्षबाट बाहिरिए ।

बैठक कक्षबाट बाहिरिएका उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको संवोधन चलिरहँदा फेरि बैठकमै भित्रिएका छन् । अहिले चलिरहेको संसद् बैठकमा रास्वपा सांसदहरू सहभागी छन् । रास्वपाको तर्फबाट डा. स्वर्णिम वाग्लेले संसद्मा पार्टीको धारणा पनि राखेका छन् ।

बैठकबाट बाहिरिएका उनीहरू किन फर्किए ? भन्ने विषयमा रास्वपा सांसद सोबिता गौतमले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिएकी छन् । उनले आफूहरूले सांकेतिक रूपमा संसद् बैठक १५ मिनेट बहिस्कार गरेको बताइन् ।

प्रतिनिधिसभा बैठकको सुरुमै आफूहरूले बोल्न पाउनुपर्ने माग राख्दै रास्वपाका सांसदहरूले १५ मिनेटका लागि बैठक अवरोध गरेका थिए । उनीहरूको अवरोधमा पनि सभामुख घिमिरेले कार्यसूची अडाडि बढाएपछि फेरि १५ मिनेट नै बहिस्कार गरेका हुन् ।

‘हामीले हाम्रा केही कुरा संसद्मा राख्न चाहेका थियौं । संसद्को अधिवेशन पहिलोचोटी सुरु हुँदैगर्दा हाम्रा केही विशेष कुरा छन्,’ बैठक अवरोध गर्न पर्नुका कारणहरूबारे सांसद गौतमले भनिन्, ‘जो सभामुखसँग राख्न चाहन्छौं भनेर सभामुखसँग माग गरेका थियौं । उहाँले समय दिनुभएन । त्यसको विरोधस्वरुप हामी १५ मिनेट सदन बहिष्कार गरेर सदनबाट निस्किएका थियौं ।’

उनले सांकेतिक विरोधका रूपमा यसलाई लिनुपर्ने बताइन् । ‘यो सांकेतिक विरोध मात्रै हो । हामीले सांकेतिक विरोधस्वरूप बहिष्कार गर्‍यौं,’ उनले भनिन् ।

प्रतिनिधिसभाको आजबाट सुरु हिउँदे अधिवेशनमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढ्न लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले उठेर आकस्मिक समय माग गरेका थिए ।

तर सभामुख घिमिरेले बैठक सञ्चालन गर्न सहयोग गर्न आसनग्रहणका लागि आग्रह गरे पनि रास्वपाका सांसदले आकस्मिक समयमा बोल्नुपर्ने कुरा रहेको भन्दै समय माग गरिरहे।

रास्वपाका सांसदहरू उठिरहेपछि सभामुख घिमिरेले पेलेरै सभा सञ्चालन गरे । त्यसपछि रास्वपा सांसदहरू बैठक स्थल छोडेर बाहिरिएका थिए ।

रास्वपाले आकस्मिक समयमा पार्टी सभापतिसमेत रहेका निलम्बित सांसद रवि लामिछानेको पद फुकुवा हुनुपर्नेलगायतका विषय उठाउने तयारी गरेको थियो। यसबारे रास्वपाको तर्फबाट सांसद गौतमले बोल्ने निर्णय पनि यसअघि नै रास्वपाले गरिसकेको थियो।