काठममाण्डु – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलीया सहरको कोलाहलभन्दा केही टाढा रहेको स्थानमा पुग्दा लाग्छ, यो कुनै शान्त ग्रामीण भेगको गाउँ हो । यही मुजेलीयाको एउटा बस्तीमा ४ धुर जमिनमा बनेको एकतल्ले सानो घर छ । घरको मोहडामा ग्रिल लागेको एउटा झ्याल छ ।
बाहिरबाट हेर्दा अत्यन्तै साधारण देखिने यही घरकी सदस्य हुन् २५ वर्षीया रुबी कुमारी ठाकुर, जो शुक्रबार संघीय संसद्को प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएकी छन् । रुबी उपसभामुख बनेसँगै अहिले यो सानो घर र मुजेलीया गाउँ देशभरकै चर्चाको केन्द्र बनेको छ ।
रुबी जति साधारण छिन उनको परिवार र उनीहरूको रहनसहन त्योभन्दा बढी साधारण छ । अचम्म त के छ भने, देशको दोस्रो उच्च संसदीय पदमा पुगेकी रुबीका बुबा, आमा र भाइलाई अझै पनि ‘उपसभामुख’ पद भनेको के हो र यसको महत्व के छ भन्ने सामान्य जानकारी छैन । उनीहरूलाई यति मात्र थाहा छ कि छोरीले कुनै ठूलै पद पाएकी छिन् ।
रुबीका बुबा सोगारथ ठाकुर वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा थिए । छोरी सांसद बनेको खबर उनले उतै सुनेका थिए । ९ दिनअघि मात्र दुई महिनाको बिदामा घर आइपुगेका सोगारथ भन्छन, ‘साउदीमा रहेका नेपालीहरूले बधाई दिँदा गर्वले छाती चौडा हुन्थ्यो । गरिबीका कारण विदेशिनु परेकाले छोरीसँग धेरै समय बिताउन पाइनँ, तर आज उसले जनकपुरकै नाम राखेको देख्दा खुसी लागेको छ ।’
रुबीलाई यो उचाइसम्म पुर्याउन सबैभन्दा ठूलो योगदान उनकी आमा रेणु ठाकुरको छ । ४ छोरी र २ छोराकी आमा रेणु दिनभर बटैया अर्थात् अधियाँ लिएको खेतमा पसिना बगाउँछिन् । छोरी उपसभामुख बनेको खबर सुन्दा उनलाई अझै पनि सपना जस्तै लाग्छ । रेणु सम्झिन्छिन रुबीलाई पढ्न असाध्यै रुचि थियो । ‘छोरीले घरभन्दा टाढा सर्लाहीको बलरा गएर पढ्छु भन्दा मैले नाइँ भनिनँ । त्यसबेला आफन्तहरूले छोरीलाई धेरै पढाउनु हुँदैन, बाहिर पठाउनु हुँदैन भनेर भन्थे । रेणु भन्छिन, ‘आज तिनै आफन्तले फोन गरेर बधाई दिँदा कता–कता गर्वको महसुस हुन्छ ।’
अहिले पनि खेतको काममा व्यस्त रहने रेणुलाई सांसद वा उपसभामुखको अर्थ थाहा छैन । रुबीले दिनमा एक–दुई पटक फोन गर्छिन् । ‘सबै ठिक छ भन्छिन्, हामीलाई विश्वास छ तर आमाको मन, चिन्ता भने लागिहाल्छ,’ उनी भावुक बन्छिन् ।
जस्तापाताको छानो भएको घरको छतमा सुकाइएको विस्कुन रुँगेर बसिरहेका रुबीका भाइ शनि कुमार ठाकुरले भर्खरै एसईई दिएका छन् । उनले पनि दिदी ठूलो मान्छे भएको कुरा फेसबुकबाटै थाहा पाएका हुन् । साथीभाइले बधाई दिँदा उनी दंग पर्छन् । दिदीको सफलताले शनिमा पनि पढेर ठूलो मान्छे बन्ने सपना पलाएको छ ।
जनकपुरबासीहरू अहिले सामाजिक सञ्जालमा ‘मधेशकी छोरी’को सफलतालाई उत्सवका रूपमा मनाइरहेका छन् । सामान्य परिवार, सानो घर र अभावका बीचबाट देशको नीति निर्माण गर्ने थलोको उपल्लो तहमा पुग्नु आफैँमा एउटा ठूलो क्रान्ति हो ।
मुजेलीयाको त्यो ४ धुर जमिनमा बनेको घरले आज सिंगो देशलाई एउटा सन्देश दिएको छ कि ‘सपना देख्न र पूरा गर्न महल नै चाहिन्छ भन्ने छैन ।’
अहिले सम्पूर्ण धनुषाबासीको एउटै चाहना छ, २५ वर्षीया यी युवा उपसभामुखको कार्यकाल सफल होस् र उनी देशभरका रुबीहरूका लागि प्रेरणाको स्रोत बन्न सकून् ।












प्रतिक्रिया