काठमाडौं – संसदीय विशेष समितिले रुकुम पश्चिममा भएको सामूहिक हत्याकाण्डको विषयमा घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
समितिका संयोजक देवेन्द्र पौडेलले घटनास्थलमा पुगेर आइतबार नै काम सुरु गरिसकेको जानकारी दिए । संयोजक पौडेलले घटनास्थलमा पुगेर अध्ययन अनुसन्धानको काम जारी राखिएको बताए ।
उनले काठमाडौंपाटीसँग कुरा गर्दै भने, ‘घटनाको विषयमा अनुसन्धान गर्न हामी अहिले जाजरकोटमा छौं । हामीले आइतबारबाट नै काम सुरु गरिसकेका छौं ।’
टोलीमा संयोजक पौडेलसहित मीनबहादुर विश्वकर्मा, प्रकाश रसाइली, एकवाल मियाँ, पार्वती कुमारी बिसुन्के, बिमला विक, महेश्वरजंग गहतराज, रामसहाय प्रसाद यादव र दुर्गा पौडेल छन् ।
गत जेठ १० गते जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको थियो । सरकारले गत जेठ २६ गते देवेन्द्र पौडेल नेतृत्वमा संसदीय विशेष समिति गठन गरेको थियो ।
जेठ १० गते जाजरकोट भेरी नगरपालिका ४ का नवराज विकसहित सञ्जु विक, टिकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढामगर र गोविन्द शाहीलाई सोतहीका स्थानीयले हत्यार गरेर भेरी नदीमा फलेका थिए ।




प्रतिक्रिया