रुकुम हत्या काण्ड : सबैको शव अंगभंग भएको अवस्थामा भेटिए

रुकुम हत्या काण्ड : सबैको शव अंगभंग भएको अवस्थामा भेटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट – पश्चिम रुकुमको सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या गरेर वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक हत्याकाण्ड घटाइएको हुन सक्ने आशंका गरिएको छ । घटनापछि बेपत्ता भएका उनीहरूको खोजतलास गर्दा भेरी नदीमा ६ जनाकै शव घाइते र विभिन्न अंगमा गम्भीर चोट लागेको अवस्थामा फेला परेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृत्यु भएको छ । भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका– १ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्यान गएको हो ।

नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्यान लिएको छ । गत १० जेठमा पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा नवराजकी पे्रमिकालाई भगाउन गएका जाजरकोटका १९ युवामध्ये ६ जनाको मृत्य भएको छ ।

अन्य सबै जना घाइते छन् । घाइतेहरूको भनाइअनुसार सोतीमा वडा अयक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा रहेको गाउँलेको समूहले चौैतर्फी घेरा हालेर ती युवालाई आक्रमण गरेका हुन् । केही युवा भाग्न सफल भए पनि युवतीका प्रेमी भनिएका नवराजसहित ६ जनालाई गाउँलले कब्जामा लिएर आक्रमण गरी भेरीमा बगाएको घाइते सुदीप खड्काले बताए । ‘हामी धन्न ज्यान जोगाउन सक्यौं, अरुलाई मारेर भेरीमा हालेछन्,’ खड्काले राजधानीसँग भने ।

मृतकहरूको शव क्षतविक्षत अवस्थामा फेला परेसँगै सोती घटनाबारे विभिन्न निकायबाट छनबिन र अनुसन्धान सुरु भएको छ । मृतकका आफन्त र शव खोजबिनमा संलग्नहरूको भनाइअनुसार टाउको र निधारमा गहिरो चोट लागेको, दाहिने हात भाचिएको र शरीरभरि निलडाम परेको अवस्थामा नवराजको शव फेला परेको थियो । यस्तै, अर्का मृतक गणेशको शव टाउकोको पछाडि भागमा गहिरो चोट लागेको, दाइने हात धारिलो हतियारले ३ ठाउमा काटेको, आँखा फुटेको, निधारमा चोटपटक लागेको अवस्थामा फेला परेको हो ।यो समाचार आजको राजधानी दैनिकमा छ ।