काठमाण्डु – रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । शुक्रवार राति आठबिसकोट नगरपालिका–३ खदीमा भएको दोहोरो झडपमा परेर माओवादीका दुई जना कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा गोपाल विक र राजु विक रहेका छन् ।
खदीको तलिगाउँ र माथिगाउँमा रहेका माओवादी र कांग्रेस कार्यकर्ताबीच सामान बोकेर ल्याइएको घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद हुँदा झडपको स्थिति सिर्जना भएको थियो ।
झडपमा संलग्न नेपाली कांग्रेसका गोपाल बोहरासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए ।
नेपाली कांग्रेस रुकुमले भने पक्राउ परेका भनिएका गोपाल बोहरासहित केही कार्यकर्तालाई माओवादी कार्यकर्ताले हतियारसहित आक्रमण गरेर बेपत्ता बनाएको आरोप लगाएको छ ।




प्रतिक्रिया