काठमाण्डु – रुकुम पूर्व लुम्बिनी प्रदेशको सबैभन्दा सानो र कान्छो जिल्ला हो । यहाँ जम्मा तीनवटा मात्रै स्थानीय तह छन् । युद्धकालदेखि नै माओवादीको गढ रहेको रुकुमबाट छुट्टिएर बनेकाले यो जिल्लामा अहिले पनि उसकै प्रभाव मजबुत देखिन्छ । गत स्थानीय चुनावमा रुकुम पूर्वका तीनवटै स्थानीय तहका प्रमुख र उपप्रमुख माओवादीले नै जितेको थियो ।
पुथा–उत्तरगंगा गाउँपालिकामा एमाले दोस्रो भयो । भूमे गाउँपालिकामा भने कांग्रेसले माओवादीसँग प्रतिस्पर्धा गरेको थियो । देशका धेरै स्थानमा एमाले वा कांग्रेसविरुद्ध अन्य दलले तालमेल गर्ने गरेका थिए । तर, पूर्वी रुकुमको सिस्ने गाउँपालिकामा भने गत चुनावमा कांग्रेस र एमालेले तालमेल गरेको दुर्लभ दृश्य देखिएको थियो । कांग्रेस र एमाले मिल्दा पनि सिस्नेमा माओवादीले नै जितेको थियो ।
आगामी चुनावमा पुरानो वर्चस्व बचाउने चुनौती माओवादीलाई देखिन्छ । यसपटक कांग्रेस र एमालेको बीचमा तालमेलको सम्भावना न्यून भएकाले माओवादीलाई अझै सहज हुन सक्छ । त्यही भएरै उसले जिल्लामा एक्लै चुनाव लड्ने घोषणा गरिसकेको छ ।
यदि पहिले जस्तै कांग्रेस र एमालेबीच तालमेल भयो भने माओवादीलाई कडा चुनौती हुनेछ । तीन दल एक्लाएक्लै लडेको अवस्थामा फेरि पनि रुकुम पूर्वमा माओवादीकै वर्चस्व हुने सम्भावना छ । एक्लै सबै पालिका जित्ने उसको आकलन छ । अब त्यो आकलन कति वस्तुवादी छ भन्ने त चुनावी नतिजाले प्रस्ट पार्नेछ ।
वैशाख ३० गते हुने स्थानीय चुनावका लागि रुकुम पूर्वमा ३३ हजार ५ सय १८ मतदाता छन् । तीमध्ये १६ हजार ८ सय ९४ जना पुरुष र १६ हजार ६ सय २४ महिला छन् ।





प्रतिक्रिया