कोरोनाविरुद्धको लडाईंमा होमिएकी डा रुना भन्छिन्ः छोरी र श्रीमानको धेरै याद आउँछ !

कोरोनाविरुद्धको लडाईंमा होमिएकी डा रुना भन्छिन्ः छोरी र श्रीमानको धेरै याद आउँछ !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भायरसको संक्रमणबाट नेपालपनि अछुतो रहन सकेन । नेपालमा हालसम्म ५९ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । जसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा कोरोना परीक्षणको दायरा फराकिलो छैन् । केही सिमित मात्रामा कोरोनाको परीक्षण हुँदा स्थिति भयावह हुने होकी भन्ने सरोकारवालाहरुको चिन्ता छ । त्यस्तै कोरोनाविरुद्धको लडाइमा होमिएका चिकित्सकहरुले पनि उच्चस्तरको स्वास्थ्य सुरक्षाका साधन पाएका छैनन् । तर, पनि उनीहरु अग्रपंक्तीमा रहेर उच्च मनोबलका साथ काम गरिरहेका छन् ।

त्यस्तै संयुक्त राष्ट्रसङ्घीय महिला मिसन युएन वुमनले छनोट गरेको कोरोनाविरुद्धको अभियानमा स्वास्थ्य मोर्चाको अग्रपङ्क्ति सम्हाल्ने विश्वका पाँच महिलाभित्र नेपालकी डा रुना झा पनि पर्न सफल भएकी छन् । काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशकसमेत रहेकी डा रुना कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर उत्कृष्ट काम गर्ने विश्वका ५ महिलामध्ये नेपालकी एक्ली चिकित्सक हुन् ।

उनले आफू र आफ्नो टीम दिन रात नभनी कोरोना भाइरसविरुद्धको लडाईंमा खटिरहेको बताइन् । उनले चीनको वुहानबाट आएका १७५ जना नेपाली विद्यार्थीको स्वास्थ्यमा दिन रात नभनी खटिएको अनुभव सुनाएकी छन् । उनले भक्तपुरको खरिपाटीमा राखिएका सबै विद्यार्थीको हेरचाहमा डा झको नेतृत्वमा प्राविधिक टोली खटिएको थियो ।

‘वुहानबाट आएका विद्यार्थीको रेखदेखमा मेरै नेतृत्वको प्राविधिक टोली खटियो । जो पहिलोपटक त्यो क्वारेन्टिन कक्षमा प्रवेश ग‍र्यो र बिनाहिचकिचावट उनीहरूको नुमना (स्वाब) लियो’, उनले आफ्नो अनुभव सुनाउँदै भनिन् ।

उनले अन्य देशमा त्यही क्षेत्रमा जीवन व्यतीत गरेका अनुभवी विशेषज्ञ र सुविधा सम्पन्न प्रयोगशाला रहेको तर नेपालको हकमा सिमित मात्रामा रहेको उनले बताइन् । ‘हामीसँग सीमित जनशक्ति र स्रोतरसाधन मात्र छन्। त्यही भएर कडा मिहिनेत गरिरहेका छौं’, उनले भनिन् ।

उनले अहिले पनि कामको चाप त्यत्तिकै रहेको बताउँदै स्वास्थ्यकर्मीहरुको समस्या पनि समाधान गर्नु आफ्ना लागि अर्को चुनौतीको पाटो रहेको बताइन् ।

‘अहिले दिनमा ६० देखि ७० वटासम्म नमुना आउँछन् । अबेरसम्म काम गर्नुपर्छ । निर्देशकका नाताले परीक्षणका साथै व्यवस्थापनका अन्य काम पनि गर्नुपर्ने हुन्छ ।प्राविधिक कामका अतिरिक्त मैले प्राविधिक साथीहरूलाई खाना, यातायातजस्ता कुराको व्यवस्था गर्नुपर्छ । काम गर्दागर्दा कहिलेकाहीं उनीहरू निराश पनि हुन सक्छन्, मैले प्रेरित गरिराख्नुपर्छ’, उनले भनिन् ।

उनले नेपालमा कोरोना भित्रिएपछि दैनिक जीवन पनि परिवर्तन भएको बताइन् । उनले आफ्नो परिवार काठमाडौंमा भए पनि घर जान नपाएको तितो अनुभव सुनाइन् ।

‘मेरो व्यक्तिगत जीवनमा पनि परिवर्तन भएको छ । मैले आफ्नी छोरीलाई श्रीमानसँगै घर पठाएको छु– जनकपुर । अहिले म एक्लै अपार्टमेन्टमा बसिरहेकी छु । मेरा अभिभावक पनि काठमाडौंमै छन्, केवल २ किलोमिटर पर । अहिले ३ हप्ता भइसक्यो, उहाँहरूसँग भेट्न नपाएको’, उनले भनिन् ।

त्यस्तै उनले छोरीहरुले कहिले घर आउने भन्दा नरमाइलो लाग्ने गरेको अनुभव सुनाइन् । उनले छोरी र श्रीमानको धेरै याद आउने तर, उनीहरूको जीवनलाई जोखिममा पार्न नचाहेको बताइन् ।

‘जनकपुर घरबाट छोरीलाई फोनमा मलाई सोधिरहन्छिन्, कहिले घर आउने भनेर । छोरी, श्रीमानको धेरै याद आउँछ । तर पनि म उनीहरूको जीवनलाई जोखिममा पार्न चाहन्नँ, अहिलेको यो कोरोना महामारीको समयमा भौतिक दूरी कायम राखेर उनीहरूलाई सुरक्षित राख्न चाहन्छु,’ उनले भनिन्, ‘मेरी आमा मलाई बोलाउँदै भन्नुहुन्छ– छोरी घर आऊ, हामी वृद्ध भइसकेका छौं । मलाई पनि मेरी छोरीलाई गम्लयाङ अँगालो हाल्न मन छ । तर यतिबेला म जुन काममा खटिरहेको छु, त्यस हिसाबले उहाँहरूको जीवनको सुरक्षाका लागि मैले त्याग गर्न आवश्यक छ ।’