काठमाण्डु – यसपटक प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये रुपन्देही–२ पनि रहेको छ ।
रुपन्देही–२मा लगातार चार पटकसम्म निरन्तर अपराजित नेतृत्व एवं पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल पनि उम्मेदवार छन् ।
यस क्षेत्रबाट लगातार पाँचौँ जित निकाल्न कस्सिएका पौडेललाई ‘ब्रेक’ लगाउने प्रयासमा अन्य दलका उम्मेदवारहरू लागेका छन् ।
यसपटक यस क्षेत्रमा दल र स्वतन्त्र गरी कुल ३९ उम्मेदवार मैदानमा छन् । जस अनुसार एमालेबाट उपाध्यक्ष पौडेल पुनः उम्मेदवार बनेका छन् । रुपन्देही-२ बाट पौडेलले २०६४ यताका निर्वाचन जित्दै आएका छन् ।
राजनीतिमा पौडेल ३१ वर्षदेखि सक्रिय छन् । २०५१ को निर्वाचनमा बुटवलका व्यवसायी सूर्यप्रसाद प्रधानसँग पराजित भएका पौडेलले २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादीका भक्ति पाण्डेलाई पराजित गरेका थिए । त्यसयताका १८ वर्ष पौडेल रूपन्देहीको संसदीय यात्रामा अपराजित छन् ।
उनी यसपटक पाल्पाबाट उम्मेदवार बन्न खोजेका थिए । तर पुनः रुपन्देही नै फर्किए । गत निर्वाचनमा १३७० मत अन्तरले जितेका पौडेलले यस पटक चुनाव हार्ने डरले नै पाल्पा जान खोजेको विश्लेषण गरिन्छ । तर, अहिलेको निर्वाचनमा उनलाई १८ वर्षे यात्रालाई निरन्तर दिन सजिलो छैन ।
नेपाली कांग्रेसले उद्योपति चुन्नप्रसाद पौडेललाई यस क्षेत्रबाट उम्मेदवार बनाएको छ भने रास्वपाबाट अधिवक्ता सुलभ खरेल उम्मेदवार छन् ।
त्यस्तै नेकपाबाट विश्वदीप पाण्डे उम्मेदवार छन् भने डा. निकोलस भुसाल पनि उम्मेदवार रहेका छन् । नेपाल जनसेवा पार्टीबाट सेतो र कालो रङको जुत्ता चुनाव चिन्ह लिएर भुसाल उम्मेदवार बनेका हुन् ।
२०७९ को आम निर्वाचनमा यहाँबाट पौडेल विजयी भएका थिए । उनले २७ हजार १६५ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्वन्द्वी रहेका स्वतन्त्र उम्मेदवार राजु गुरुङले २५ हजार ७९५ मत प्रप्त गरेका थिए । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापा मगरले २२ हजार २७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी २०७९ को निर्वाचनमा समानुपातिकतर्फ रुपन्देही– २ मा रास्वपाले सर्वाधिक २५ हजार ६७३ मत प्राप्त गरेको थियो । त्यस्तै एमालेले २१ हजार १८३ मत प्राप्त गरेको थियो भने नेपाली कांग्रेसले १३ हजार ४५० मत पाएको थियो । तत्कालिन माओवादी केन्द्रले ३ हजार ४२९ मत मात्र पाएको थियो ।
अघिल्लो निर्वाचन र अहिलेको निर्वाचनको अवस्था यहाँ फरक छ । अघिल्लो चुनावमा यस क्षेत्रमा कांग्रेस–माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार बनेका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धन उम्मेदवारविहीन बनेको थियो । त्यसपछि गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशब बहादुर थापा मगरलाई समर्थन गरेका थिए ।
क्षेत्रमा एमालेकै हाराहारीमा मत रहेको कांग्रेस, त्यसपछि माओवादी केन्द्र र एकीकृत समाजवादी उम्मेदवारविहीन बनेपछि यस क्षेत्रका धेरै मतदाताले स्वतन्त्र उम्मेदवार गणेश पौडेललाई समर्थन गरेका थिए ।
तर अब यस पटक सबै प्रमुख दलले उम्मेदवारी दिएका कारण पौडेललाई अघिल्लो चुनाव जस्तो सहज भने छैन ।
अघिल्लो निर्वाचनमा भन्दा यस पटक रास्वपा नयाँ लहरका साथ आएको छ । त्यसकारण पनि रास्वपाले चुनाव जित्ने दाबी आफैमा बलियो छ । त्यस्तै कांग्रेस पनि आफूलाई बदलेर आएको दाबी गरेको छ । कांग्रेसका उम्मेदवार चुन्न प्रसाद पौडेलको व्यक्तिगत प्रभाव पनि रहेका कारण उनी बलियो देखिएका छन् ।
अहिले सबै दलहरूको उम्मेदवार रहेका कारण एमालेका पौडेललाई मत जोगाउन भने सकस हुने देखिएको छ ।
एमालेप्रति देखिएको असन्तुष्टि, एमालेभित्रै पौडेल र महासचिव शंकर पोखरेलबीच रहेको अन्तरिक संघर्ष जस्ता कारणले पौडेललाई अप्ठ्यारो पार्न सक्ने विश्लेषण गरिएको छ ।
त्यसैगरी नेकपाबाट उम्मेदवार बनेका विश्वदीप पाण्डे नयाँ उम्मेदवार हुन् । लामो समय बाबुराम भट्टराईसँग रहेका पाण्डे पुन तत्कालिन माओवादी केन्द्रमा प्रचण्डसँग फर्किएर अहिले उम्मेदवार बनेका छन् ।
तुलनात्मकरुपमा नेकपाको जनाधार कम रहेको र एक्लै चुनावमा लडेका कारण उनले अन्य उम्मेदवारलाई कतिको चुनौती दिन सक्छन् त्यो हेर्न बाँकी नै छ । अहिलेसम्मको चुनावी वातावरण हेर्दा यस क्षेत्रमा एमाले, कांग्रेस र रास्वपाबीच त्रिपक्षिय प्रतिष्पर्धा हुने देखिन्छ ।
तीन वटै दलका उम्मेदवारको आ–आफ्नै राम्रो पक्ष रहेकाले कसले बाजी मार्छ भन्ने अवस्था रहेको देखिदैन ।समग्रमा यो चुनाव यस क्षेत्रमा विष्णु पौडेलले आफ्नो मत जोगाउने र कांग्रेस–रास्वपाले आफ्नो झण्डा गाड्ने संघर्ष हुने देखिएको छ ।
बौद्धिक वर्ग, व्यवसायी र चलायमान मतदाताको प्रभाव रहेको रूपन्देही–२ मा सहज जित निकाल्ने आंकलन कुनै पनि उम्मेदवारले गर्न सकेका छैनन् । अहिलेसम्म कुनै पनि दलले प्रतिबद्धता वा घोषणा–पत्र ल्याएका छैनन् । तर, अधिकांश उम्मेदवार घरदैलोमा मत मागिरहेका छन् ।
रुपन्देही–२ मा सैनामैना नगरपालिकाको १ देखि ४ नम्बर वडा, तिलोत्तमा नगरपालिकाको १ देखि ६ नम्बर वडा र बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बर वडासम्म समेटिएको छ ।
निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा १ लाख ३५ हजार ५० जना मतदाता छन् भने १३८ मतदान केन्द्र तोकिएको छ ।




प्रतिक्रिया