काठमाण्डु – रुपन्देही–४ जिल्लाकै सुगम मध्यको दुर्गम क्षेत्र हो । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीका अन्य क्षेत्रमा विकासले आसलाग्दो गति लिएपनि क्षेत्र नम्बर ४ मा भने अझै विकासबाट वञ्चित नै छ ।
यस निर्वाचन क्षेत्रका मतदाताले सडक, सिचाई, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी चाहेका छन् ।
सबै उम्मेदवारहरूले विकासलाई मूल एजेन्डा बनाएका छन् । मर्चवारसहित क्षेत्रमा रहेका समस्या समाधान गर्नेदेखि सुशासन, भ्रष्टचार नियन्त्रणदेखि जेनजी पुस्ताका आकाक्षासम्म पूरा गर्ने वाचा उनीहरूको छ ।
रुपन्देही–४ ग्रामीण बस्तीले भरिएको क्षेत्र हो । अन्न भण्डारको रूपमा चर्चा कमाएको यो क्षेत्रमा अहिले चुनावी चहलपहल निकै बढेको छ ।
२०४८ सालदेखि लगातार चुनाव लड्दै आइरहेका जनता समाजवादी पार्टी–नेपाल (जसपा–नेपाल)का सर्वेन्द्रनाथ शुक्ला आठौं पटक चुनावी मैदानमा छन् । उनी २०७९को चुनाव लोसपाबाट जितेका हुन् । अहिले जसपा नेपाल र लोसपा नेपालबीच एकता भइ जसपा–नेपाल बनेको छ ।
यस्तै नेपाली कांग्रेसका युवा नेता आशुतोष मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कन्हैयाकुमार बाँनिया, जनमत पार्टीका भोपेन्द्र यादव र नेकपा एमालेका प्रमोद कुमार यादव चुनावी प्रतिस्पर्धामा छन् ।
यस क्षेत्रमा २२ जना उमेदवार प्रतिस्पर्धामा छन् । राजनीतिक दलबाट १५ र स्वतन्त्र ७ जनाले उमेदवारी दिएका छन् । पूर्वमन्त्रीदेखि पूर्वसांसद चुनावी मैदानमा आमनेसामने हुँदा प्रतिस्पर्धा रोचक देखिएको छ ।
यस क्षेत्रमा दल बदल्नेदेखि प्रदेश सभा सदस्य छाड्नेसम्म चुनावी मैदानमा छन् । एमालेका यादव मनोनयन दर्ताका दिन नेपाली कांग्रेस छाडेका हुन् । लोसपाबाट प्रदेश सभा सदस्य निर्वाचित कन्हैयाकुमार बानिया रास्वपाबाट चुनाव लडिरहेका छन् ।
२०७९ को निर्वाचनमा २८ हजार मतका साथ तत्कालीन लोसपाका शुक्ला विजयी भएका थिए । शुक्लासँग तत्कालिन नेपाली कांग्रेसका प्रमोदकुमार यादव पराजित भएका थिए ।
२०७४ मा भने शुक्लालाई पराजित गर्दै यादव विजयी भएका थिए । त्यसकारण शुक्ला र यादव दुवैलाई बलियो उम्मेदवारको रूपमा हेरिएको छ ।
२०७० मा शुक्ला तत्कालीन तमलोपाबाट संविधान सदस्यमा निर्वाचित हुँदा २०६४ मा यो क्षेत्रबाट तत्कालीन मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादव निर्वाचित भएका थिए ।
विगतका निर्वाचनहरूमा यो क्षेत्रमा नेपाली कांग्रेसले पनि राम्रै मत पाएको देखिन्छ । अहिले यो क्षेत्रमा कांग्रेसका मिश्रको चुनौती पनि कडा हुने अपेक्षा गरिएको छ ।
नेकपाका यादव २०६४ मा एमालेबाट उम्मेदवार बनेका थिए । २०७९ को स्थानीय तहको चुनावमा रुपन्देहीको सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका यादव पराजित भएका थिए ।
रास्वपाका उम्मेदवार कन्हैया बनिया २०७९ को निर्वाचनमा रुपन्देही ४(क) मा तत्कालीन लोसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चुनावी मैदानमा खडा भएका हुन् ।
त्यस्तै, जनमत पार्टीबाट भोपेन्द्र प्रसाद यादव उम्मेदवार छन् । पार्टीको केन्द्रीय सचिव रहेका यादव २०७९ सालमा पनि उनी जनमतबाटै चुनाव लडेका थिए । त्यसबेला यादव तेस्रो भएका थिए । उनी दोस्रोपटक चुनावी मैदानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यो क्षेत्रमा अहमदिन मुसलमानलाई उमेदवार बनाएको छ ।
रुपन्देही–४ मा ६६ हजार ६२ पुरुष, ५० हजार ११० महिला गरी १ लाख १६ हजार १७२ मतदाता छन् । यहाँ ४८ मतदानस्थल र १३३ मतदान केन्द्र छन् ।




प्रतिक्रिया