भैरहवा – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको लागि आइतबार मनोनयन प्रक्रिया सम्पन्न भएको छ । मनोनयन गर्दा राजनीतिक दलका नेता मात्र हैन स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्नेको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।
आफू नै संलग्न रहेको राजनीतिक दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पनि देखिएका छन् । यस्तै रोचक मनोनयन भएको छ रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा । यो क्षेत्रमा बाबु र छोराले स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारी दिएका छन् ।
नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका फैज अहमद खाँनले क्षेत्र नं ३ को प्रदेशसभा सदस्य ‘क’ तर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनकै छोरा २८ वर्षीय ईमदाद हुसेन खाँनले भने स्वतन्त्रतर्फ नै प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
सिद्धार्थनगर नगरपालिका–९ मा बस्दै आएका खाँन परिवारबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुबै पदको लागि स्वतन्त्र उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि जम्मा २४ जनाको उम्मेदवारी परेको छ ।
यीमध्ये ११ जनाको दलीय रुपमा उम्मेदवारी परेको र १३ जनाको स्वतन्त्र रुपमा उम्मेदवारी परेको उनले जानकारी दिए ।




प्रतिक्रिया