रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किम जोङबीच भेटवार्ता

रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किम जोङबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भ्लादिभोस्तक – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा भेटवार्ता भएको छ । रुसी राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुग्नुभएको थियो । उहाँलाई भ्लादिभोस्तकमा स्थानीय जनताले परम्परागत सांस्कृतिक वेशभुषा सहित स्वागत गरेका थिए ।

दुबै नेताबीच भ्लादिभोस्तकको रुस्की द्वीपस्थित फार इस्टर्न फेडेरल युनिभर्सिटी क्याम्पसमा भेटवार्ता हुँदैछ । भ्लादिभोस्तकको सुरक्षा व्यवस्था कडा पारिएको छ । रुसी राष्ट्रपति पुटिन चीनमा आयोजना हुने बिआरआई अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भ्लादिभोस्तक हुँदै चीनको बेइजिङ आउन लागेका छन् ।

दुबै नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक अप्रसारका साथै रुस–उत्तर कोरिया सम्बन्धलाई नयाँ आयाम दिने प्रयत्नमा केन्द्रित हुने रुसी अधिकारीहरुले जनाएका छन् । यद्यपी दुबै नेताका तर्फबाट संयुक्त वक्तव्य जारी नहुने र कुनै नयाँ सम्झौतामा हस्ताक्षर पनि नहुने क्रेमलिनले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनले कोरियाली प्रायःद्वीपमा उत्पन्न तनाबका सन्दर्भमा आफ्ना तर्फबाट सकारात्मक प्रयत्न जारी राख्ने बताइएको छ । उनले नेता किमलाई स्वागत गर्दै भने, “तपाइँको भ्रमणबाट द्विपक्षीय सम्बन्धमा अझ सुधार आउनेछ, र कोरियाली प्रायःद्वीपमा उत्पन्न विविध विषयलाई सम्बोधन गरी राम्रो समाधान खोज्नेतर्फ हामी सफल हुनेछौं ।”

उत्तर कोरियाली नेता किमले भ्रमणका बारेमा पहिलो प्रतिक्रिया दिँदै कोरियाली प्रायःद्वीपका विविध विषयलाई सम्बोधन गर्न रुसी राष्ट्रपति पुटिनसँगको भेटवार्ता अर्थपूर्ण हुने बताए । उनले भने, “अहिले, विश्वकै ध्यान कोरियाली प्रायःद्वीपमा केन्द्रित भएको छ ।” क्रेमलिनका अनुसार प्रारम्भमा दुबै नेताबीच मात्र भेटघाट हुनेछ, र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय सामूहिक भेटवार्ता हुनेछ । रुसी समाचार संस्था रिया नोभोस्तीका अनुसार दुबै प्रमण्डलबीच करिब चार घण्टा वार्ता हुनेछ ।

किमका साथ उत्तर कोरियाका सैनिक, नागरिक एवं पार्टीका वरिष्ट अधिकारीहरु सहभागी हुनुहुन्छ । रुसी प्रमण्डलमा रुसी उपप्रधानमन्त्री युरी टुटनेभ, विदेशमन्त्री सर्गेई लाभरोभ, यातायात मन्त्री लगायत वरिष्ट अधिकारीहरु छन्।- योनहाप