काठमाण्डु – रुसले युक्रेनमा अस्थायी युद्धविरामका बीच पनि आक्रमण जारी राखेको छ । युद्धको दशौं दिन मारिओपोल र भोल्नोव शहरमा शनिबार अस्थायी युद्धविराम लागू गरे पनि आक्रमण जारी रहंदा सर्वसाधारण जनता सुरक्षित स्थानतर्फ जान नपाएको युक्रेनी अधिकारीले जानकारी दिएका छन् ।
रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा रहेका आमनागरिकलाई उक्त ठाउँ छोड्न सहयोगका लागि अस्थायी युद्धविराम घोषणा गरिएको जनाइएको थियो । तर सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने काम स्थगित नै गरेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
स्थानीयहरुले रुसले युद्धविराम घोषणा गरेको जनाए पनि गोला बारी भने जारी रोखको दावी गरेका छन् । रुसले भने युक्रेनी राष्ट्रवादीहरुले नागरिकलाई शहर छाड्न नदिएको आरोप लगाएको छ ।
युक्रेनी जनतालाई आफ्नै दाजु भाइको रुपमा व्यवहार गर्ने पुटिनको दावी
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई माया गर्ने दावी गरेका छन् । उनले युक्रेनका जनताहरुलाई आफ्नै दाजुभाईको रुपमा व्यवहार गर्ने समेत दावी गरेका छन् ।
जुन २०१७ मा ओलिभर स्टोनसँगको अन्तर्वार्तामा पुटिनले भनेका थिए, ‘हामी युक्रेनलाई माया गर्छौं । हामी त्यहाँका मानिसहरूलाई आफ्ना दाजुभाइको रूपमा व्यवहार गर्छौं, तर, जहिले युक्रेनी राजनीतिज्ञहरूले युरोपेली संघ र नाटोमा सामेल हुने इच्छा व्यक्त गरे, पुटिनले यसलाई खतराको घण्टीको रूपमा लिएका हुन् ।
पुटिनले दिए यस्तो चेतावनी
त्यसैगरी पुटिनले कुनै पनि मुलुकले युक्रेनमा नो फ्लाई जोन लागू गरे उसलाई जारी युद्धमा सामेल भए बराबर मानिने चेतावनी दिएका छन् । सरकारी विमान कम्पनी एयरोफ्लोटका कर्मचारीहरुसँगको भेटघाटमा उनले युक्रेनमाथि नो फ्लाई जोन लागु गर्ने जुनसुकै मुलुक युक्रेन युद्धमा सहभागी भएको रूपमा हेरिने बताएका हुन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोमाथि नो फ्लाई जोन घोषणा नगरेकोमा चर्को आलोचना गरेका थिए । नेटोले भने नो फ्लाई जोन घोषणा पछि जारी युद्ध अन्य देशमा पनि सल्किने जनाएको छ । त्यसैगरी युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरुलाई पनि पुटिनले चेतावनी दिएका छन् । उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरुलाई चेतावनी दिएका हुन् । ‘छिमेकीविरुद्ध हाम्रो कुनै गलत मनसाय छैन,’ उनले भने ।
जेलेन्स्की र बाइडेनबीच छलफल
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्ता गरेका छन् । बाइडेनसँगको वार्तामा सुरक्षा, युक्रेनलाई आर्थिक सहयोग र रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको राष्ट्रपति जेलेन्स्कीले एउटा ट्विटमा उल्लेख गरेका छन् ।
त्यसैगरी उनले इजरायलका प्रधानमन्त्री नाफतली बेन्नेटसँग पनि टेलिफोन वार्ता गरेका छन् । त्यसैगरी यता खेरसनको ब्ल्याक सी बन्दरगाहमा रुसी अतिक्रमणको विरुद्धमा युक्रेनीहरुले प्रदर्शन गरेका छन् । खेरसन रुसी सेनाले कब्जामा लिएको पहिलो युक्रेनी सहर हो । रुसी सेनाले प्रदान गरेको मानवीय सहायता अस्वीकार गर्दै उनीहरुले देशभक्तिपूर्ण नारा लगाएका थिए । युक्रेनी झन्डा बोकेका उनीहरुले रुसी सेनालाई देश छोड्न माग गरेका थिए ।
‘यो सयौंको होइन्, हजारौंको प्रदर्शन थियो,’ प्रदर्शनमा सहभागीमध्येका एक जनाले भने । ‘युक्रेन हाम्रो हो भनेर हामीले नाराबाजी गर्यौं,’ उनले थपे, ‘हामीले रुसी सेनालाई घर फर्क, हामी तिमीहरुलाई यहाँ देख्न चाहन्नौं भन्यौँ । हामी युक्रेनमै बस्न चाहन्छौं । हामी युरोपमा बस्न चाहन्छौ, रुसमा होइन ।’




प्रतिक्रिया