काठमाण्डु – रुस र युक्रेनबीच जारी विवादमा महाशक्ति राष्ट्र अमेरिकाले गम्भीर चासो व्यक्त गरिरहेको छ । तर कुनै ठोस कदम चाल्न सकेको छैन । रुसले पूर्वी युक्रेनका २ क्षेत्र डोनेत्स्क र लुहन्सकलाई छुट्टै स्वतन्त्र देशको मान्यता दिइसकेको छ ।
छुट्टै राष्ट्रको मान्यता दिइएका क्षेत्रमा युक्रेनले हस्तक्षेप गरेमा रुसले शान्तिसेना पठाउन सक्ने सम्भावना पनि छ । अमेरिकाले पनि युक्रेनको भूमिमा हस्तक्षेप नगर्न रुसलाई चेतावनी दिँदै आएको छ । अमेरिकाले रुसमाथि केही सामान्य प्रतिबन्ध समेत लगाएको छ ।
सतहमा रुस र युक्रेनको विवाद देखिएपछि खासमा युक्रेनको मैदानमा अमेरिका र रुसको टक्कर चलिरहेको विश्लेषण मिडियामा भइरहेको छ । युक्रेन संकट निम्तिनुको भित्री रहस्य अमेरिकाको नेतृत्वमा रहेको नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) सँग जोडिएको बताइन्छ ।
नेटो सन् १९४९ मा स्थापना भएको सैनिक गठबन्धन हो, नेटोले सदस्य राष्ट्रमा सुरक्षा कायम गर्न भन्दै छुट्टै सेना र हातहतियार खडा गरेको छ । युक्रेन नेटो संगठनमा आवद्ध हुन चाहन्छ भने रुस रोक्न चाहन्छ ।
युक्रेन नेटोमा आवद्ध भएमा नेटोका सेना र हतियार रुसी सीमा क्षेत्रमा तैनाथ हुने डर रुसलाई रहेको छ । नेटोका सेनाहरू सदस्य राष्ट्रका क्षेत्रमा सहजै प्रवेश गर्न सक्छन् । युक्रेन र रुसको सीमा जोडिएकाले रुसलाई नेटो सेनाको डर रहेको छ, जसको नेतृत्व अमेरिकाले गर्छ । नेटोसँग रुस किन यति चिढिएको छ ?
७० वर्ष पुरानो त्यो शत्रूता
नेटो र रुसको संघर्ष दोस्रो विश्वयुद्धसँग जोडिन्छ । सन् १९३९ देखि १९४५ सम्म दोस्रो विश्वयुद्ध भयो, त्यसपछि सोभियत संघले पूर्वी युरोपबाट आफ्ना सेना हटाउन अस्वीकार गर्यो, १९४८ मा बर्लिनलाई घेर्यो ।
सोभियत संघको विस्तारवादी नीतिलाई रोक्न सन् १९४९ मा अमेरिकाको नेतृत्वमा नेटो स्थापना भयो । त्यतिबेला नेटोमा १२ सदस्य देश थिए । नेटोको सदस्यमा अमेरिका, ब्रिटेन, फ्रान्स, क्यानडा, इटली, नेदरल्यान्ड, आइसल्यान्ड, बेल्जियम, लक्जमवर्ग, नर्वे, पोर्चुगल र डेनमार्क थिए । हाल नेटोमा ३० देश आवद्ध छन् ।
सोभियत संघविरुद्ध नै अमेरिकाले नेटो स्थापना गरेकाले रुससँग खराब सम्बन्ध रह्यो । त्यतिबेला विश्व २ वटा शक्तिमा बाँडिएको थियो – जसमा एउटाको नेतृत्व अमेरिका र अर्काेको नेतृत्व सोभियत संघले गरेको थियो ।
सन् १९९१ डिसेम्बर २५ का दिन सोभियत संघ विघटन भयो । सोभियन संघ टुक्रिएर अर्मिनिया, अजरबैजान, बेलारुस, इस्टोनिया, जर्जिया, कजाकिस्तान, कीर्तिस्तान, लतविया, लथुआनिया, मालदोवा, रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान, युक्रेन र उज्वेकिस्तान गरी नयाँ १५ देश बने । सोभियत संघ विघटन भएपछि अमेरिका एक्लो महाशक्ति बन्यो ।
त्यसपछि अमेरिकी नेतृत्वको नेटोले सोभियत संघबाट विभाजित भएका देशलाई सदस्य बनाउन थाल्यो र रुसलाई चारैतिरबाट घेर्न थाल्यो । सोभियत संघबाट बनेका देशमध्ये रुससँग केही शक्ति बाँकी नै थियो, रुस अहिले पनि प्रभावशाली देशभित्र पर्छ ।
नेटोबाट घेरिँदै रुस !
सन् २००४ मा इस्टोनिया, लतविया र लिथुआनियालाई नेटोमा सहभागी गराइयो । सन् २००८ मा जर्जिया र युक्रेनलाई नेटोमा सहभागी हुने निम्तो दिइयो । तर यी २ देश नेटोको सदस्य बनिसकेका छैनन्, बन्ने प्रक्रियामा छन् ।
युक्रेन नेटोमा आवद्ध हुने प्रक्रियाप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपत्ति जनाउँदै आएका छन् । गत वर्ष डिसेम्बरमा पुटिनले भनेका थिए, ‘हामीले स्पष्ट भनेका छौं – पूर्वी क्षेत्रमा नेटोको विस्तार मन्जुर हुँदैन । अमेरिकाले हाम्रो ढोकामा मिसाइल तैनाथ गरेको छ । यदि क्यानडा र मेक्सिकोको सीमामा मिसाइल तैनाथ गरियो भने अमेरिकालाई कस्तो लाग्ला ?’
रुसको सीमासँग जोडिएका देश इस्टोनिया, लतविया, लिथुआनिया र टर्की नेटोको सदस्य बनिसकेका छन् । यी देशमार्फत नेटो सेना रुसको सीमासम्मै आउनसक्छ । यदि युक्रेन पनि नेटोको सदस्य बन्यो भने रुस चारैतिरबाट नेटोको घेराबन्दीमा पर्नेछ, यो रुसलाई मन्जुर छैन । रुसी राष्ट्रपति पुटिनको तर्क छ, ‘यदि युक्रेन नेटोमा जान्छ भने भविष्यमा नेटोका मिसाइल युक्रेनको धर्तीमा मिनेटमा आउनेछन्, जुन रुसका लागि ठूलो चुनौती हो ।’
कति शक्तिशाली छ नेटो ?
सैन्य शक्ति र बजेटका हिसाबले नेटो शक्तिशाली संगठन हो । नेटोका अनुसार सन् २०२१ मा सबै ३० देशको अनुमानित संयुक्त खर्च १ हजार १७४ अर्ब अमेरिकी डलरभन्दा बढी छ । सन् २०२० मा नेटो देशहरूले १ हजार १०६ अर्ब डलरभन्दा बढी खर्च गरेका थिए । रुसले सन् २०२० मा सेनामा ६१.७ अर्ब डलर मात्रै खर्च गरेको थियो ।
नेटोका ४० हजारभन्दा बढी सैनिक तत्कालै लामवद्ध हुन सतर्क रहन्छन् । यदि युद्ध नै भयो भने नेटोसँग ३३ लाखभन्दा बढी जवान छन् । रुससँग १२ लाख सेना छन्, जसमध्ये ८ लाख जवान सक्रिय छन् । त्यही भएर रुसले नेटोमार्फत आफ्नो सीमा क्षेत्रमा सेना र हतियारको तैनाथी बन्द गर्न अमेरिकालाई चेतावनी दिँदै आएको छ ।




प्रतिक्रिया