एजेन्सी – काेराेना भाइरस (कोभिड)-१९ विरुद्धको खोपको परीक्षणबाट मानिसहरूमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको रुसी वैज्ञानिकहरूले बताएका छन्। मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको बताइएको छ ।
गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनले आवश्यक सबै परीक्षणका मापदण्ड खोपले पूरा गरेको र आफ्नी छोरीमा पनि परीक्षण गरिएको बताएका थिए। स्पुतनिक ५ नाम दिइएको उक्त खोपको दुईवटा परीक्षण गत जुन र जुलाई महिनाको बीचमा गरिएको जर्नलमा उल्लेख गरिएको छ।
प्रत्येक परीक्षणमा सहभागी ३८ जना स्वस्थ स्वयम्सेवकलाई पहिलो खोपको लगाइएको थियो र तीन सातापछि उनीहरूलाई बुस्टर डोज दिइएको थियो। सहभागीको उमेर १८ देखि ६० वर्षसम्म थियो। उनीहरूलाई ४२ दिनसम्म निगरानी गरिएको थियो र सबैमा तीन साताभित्र एन्टीबडीको विकास भएको थियो। उनीहरूमा सामान्यतया टाउको र जोर्नी दुख्ने साझा खालको साइड इफेक्ट देखिएको छ।
खोपको बारेमा वैज्ञानिक नतिजा प्रकाशित हुनुअघि नै अगस्ट महिनामा स्थानीय रूपमा उक्त खोप प्रयोग गर्न अनुमति दिएको रुस त्यसो गर्ने पहिलो देश हो। विज्ञहरूले खोपको प्रभावकारिता र सुरक्षित रहेको प्रमाणित गर्नको उक्त परीक्षण निकै न्यून भएको बताएका छन्।
केही पश्चिमा विज्ञहरूले रुसले गरेको कामको तीव्र गतिलाई लिएर चिन्ता प्रकट गरेका छन् र अनुसन्धानकर्ताहरूले छिटो हुन सजिलो बाटो रोजेको हुनसक्ने उनीहरूको भनाइ छ। प्रतिवेदनमा भनिएको छ, “कोभिड(१९ को सङ्क्रमण रोक्न दीर्घकालीन सुरक्षा र प्रभावकारिता स्थापित गर्न मनोवैज्ञानिक लाभको तुलना सहितको ठूलो दीर्घकालीन परीक्षण र थप निगरानी आवश्यक रहेको छ।
जर्नलका अनुसार तेस्रो चरणको परीक्षणमा ’फरक(फरक उमेर र जोखिम समूह’ बाट ४० हजार स्वयम्सेवक सहभागी हुनेछन्। तर विज्ञहरूले खोप बजारमा उपलब्ध गराउनका निम्ति अझैँ पनि लामो प्रक्रिया पूरा गर्न बाँकी रहेको बताएका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वव्यापी रूपमा अहिले १७६ वटा सम्भावित खोपको विकास गरिराखेको जनाएको छ ।




प्रतिक्रिया