काठमाण्डु – रुसमा बुधवार छैटौँ सबैभन्दा ठूलो भूकम्प भएको छ ।
बुधबार बिहान को क्याम्च्याट्का प्रायःद्वीपमा ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको हो । क्याम्च्याट्का क्षेत्रमा गएको भूकम्प २०११ मा जापानमा गएको विनाशकारी भूकम्पपछि विश्वमै अहिलेसम्म गएको सबैभन्दा शक्तिशाली भूकम्प हो ।
जापानको भूकम्पले ठूलो सुनामी ल्याएको थियो भने जापानलाई ध्वस्त अवस्थामा पु र्याएको थियो।
भूकम्पपछि प्रशान्त महासागरको तटमा रहेका धेरै ठाउँमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय (यूएसजीएस)का अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्याम्च्याट्का प्रायःद्वीपमा उक्त शक्तिशाली भूकम्प गएको हो। भूकम्प अहिलेसम्म अभिलेखमा भएकामध्ये छैटौँ भएको पनि यूएसजीएसले जनाएको छ।
यसअघि त्यस क्षेत्रमा सन् १९५२ सबैभन्दा शक्तिशाली भूकम्प गएको थियो । विगत १० दिनमा सोही क्षेत्रमा निरन्तर भुइँचालो गएको थियो। जुलाई २० तारिखमा ५ वटा भूकम्प मापन गरिएको थियो।

अहिलेसम्म जापान, संयुक्त राज्य अमेरिका, पेरू, एक्वडोर र चीनमा सुनामीको चेतावनी जारी गरिएको छ। फिलिपिन्स र इन्डोनेशियामा पनि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
जापानको पूर्वी तटीय क्षेत्रका मानिसहरूलाई पनि सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिइएको छ। त्यहाँ समुद्रको छाल ४ मिटर माथिसम्म पुग्ने अनुमान गरिएको छ।
जापानको होक्काइडो प्रान्तको उत्तरी क्षेत्रको तटीय सहर नेमुरोमा सुनामीको लहर बज्रिएको छ। सुनामी पहिलो लहरको उचाइ लगभग १२ इन्च रहेको बताइएको छ। जापानी अधिकारीहरूले अब आउने लहरहरू अझ बढी उचाइको हुने बताएका छन्।
अमेरिकी अधिकारीहरूले अलास्का र हवाई क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरेका छन्। बुधवारको शक्तिशाली भूकम्पपछि रुसी अधिकारीहरूले आउने महिनामा कम्तीमा ७.५ म्याग्निट्यूडसम्मको उल्लेखनीय परकम्पको अनुमान गरिएकोू बताएका छन्।
अमेरिकी भौगर्गिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार ८.८ म्याग्निट्यूड भनेको इतिहासको छैटौँ ठूलो भूकम्प हो। उक्त भूकम्प सन् २०१० मा बायोबाय चिली र सन् १९०६ मा एस्मेराल्डास, एक्वडोरमा गएका भूकम्पसरह हो।
चिलीको भूकम्प समुद्र तटमा आएको थियो। त्यसमा परेर ५२३ जनाको मृत्यु भएको थियो भने ३,७०,००० वटाभन्दा बढी घरहरू नष्ट भएका थिए।
एक्वडोरको भूकम्पमा १,५०० व्यक्तिको ज्यान गएको थियो भने यो उत्तरमा सान फ्रान्सिस्कोसम्म पुगेको थियो।
आश्चर्यको कुरा पाँचौँ सबैभन्दा भीषण भूकम्प पनि रुसको क्याम्च्याट्का क्राइमै आएको थियो। यो सन् १९५२ मा आएको थियो र विश्वमा रेकर्ड गरिएको पहिलो म्याग्निट्यूड ९.० को भूकम्प थियो।
यूएसजीएसका अनुसार कामचाट्काको भूकम्प १४ वर्षयता विश्वकै सबैभन्दा ठूलो भूकम्प पनि हो । रुसमा गएको यो भूकम्प सन् २०११ मा जापानमा गएको विनाशकारी भूकम्पपछि विश्वमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो।

सन् २०११ मा जापानमा ९.१ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको थियो । हालसम्म मापन गरिएको सबैभन्दा शक्तिशाली भूकम्प सन् १९६० मा चिलीको भाल्दिभियामा गएको थियो, जसको म्याग्निट्यूड ९.४ देखि ९.६ को बीचमा थियो।
अहिलेसम्मकै दोस्रो शक्तिशाली भूकम्प सन् १९६४ मा अमेरिकाको अलास्कामा गएको थियो। यो भूकम्प प्रिन्स विलियम साउन्ड क्षेत्रमा मापन गरिएको थियो, जसको म्याग्निट्यूड ९.२ देखि ९.३ को बीचमा थियो।
सन् २००४ मा भारतीय महासागरमा आएको भूकम्प, जुन इन्डोनेसियाको सुमात्रा क्षेत्रमा केन्द्रित थियो, तेस्रो शक्तिशाली भूकम्प थियो। यो ९.२ देखि ९.३ म्याग्निट्यूडको थियो । भूकम्पको झट्काले इन्डोनेसिया, भारत, मलेसिया, म्यानमार, श्रीलंका, थाईल्यान्ड, सोमालिया र माल्दिभ्समा असर पारेको थियो।
सन् २०११ मा जापानमा आएको ‘ग्रेट ईस्ट जापान अर्थक्वेक’ विश्वको चौथो शक्तिशाली भूकम्प मानिन्छ। यसपछि पाँचौं स्थानमा रुसको कामचाट्का क्षेत्रमा करिब ७० वर्षअघि गएको भूकम्प पर्छ।




प्रतिक्रिया