काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा गरेका छन्।
नाजी जर्मनीमाथि तत्कालीन सोभियत संघले विजय हासिल गरेको सम्झनामा खुसियाली मनाउन रुस र युक्रेनले घोषणा गरेको एउटा छुट्टै युद्धविराम उल्लङ्घन गरेको आरोप एकअर्कामाथि लगाइरहेका बेला ट्रम्पले पछिल्लो घोषणा गरेका हुन्।
तीन दिने युद्धविरामका क्रममा दुई देशबीच एक–एक हजार जना कैदीहरू साटासाट गरिने पनि ट्रम्पले उल्लेख गरेका छन्।
रुस र युक्रेनबीच मे ९, १० र ११मा युद्धविराम हुनेछ ।
त्यसलगत्तै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराममा युक्रेनको संलग्नता पुष्टि गरे भने रुस पनि त्यसमा सहमत भएको रुसी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
आफ्नो पोस्टमा ट्रम्पले तीन दिने युद्धविरामका लागि व्यक्तिगत रूपमा आफूले आग्रह गरेको भन्दै त्यसमा सहमत भएकोमा राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रशंसा गरेका छन्।
यस युद्धविराममा लडाइँका सबै गतिविधि बन्द गर्ने र दुवै देशबाट एक–एक हजार जना कैदीहरूको साटासाट समावेश हुने छ।
यसअघि पुटिनले विजय दिवस मनाउनुअघि मे ८ तारिखदेखि ९ तारिखसम्म लागु रहने एउटा युद्धविरामको घोषणा गरेका थिए। विजय दिवस मनाउने परेडमा आक्रमण नगर्न रुसले युक्रेनलाई चेतावनी दिएको छ।
झन्डै दुई दशकयता पहिलो पटक परेडमा सैनिक उपकरणहरूको प्रदर्शनी गरिने छैन। युक्रेनले कार्यक्रमहरू बिथोल्न सक्ने आशङ्कामा मस्कोमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।
विजय दिवसमा मस्कोमा ठूलो सङ्ख्यामा विदेशी पाहुनाहरू उपस्थित हुँदै आएकामा यसपालि बेलारुस, मलेशिया र लाओसका नेता एवं केही सङ्ख्यामा अरू अतिथिहरूको सहभागिता रहने छ।




प्रतिक्रिया