रुस-युक्रेन युद्धमा छिरेको अमेरिका

रुस-युक्रेन युद्धमा छिरेको अमेरिका

ट्रम्प कार्यकालमा शान्ति सम्झौताको सम्भावना कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुअघि डोनल्ड ट्रम्पले एक दिनमै रुस–युक्रेन युद्ध अन्त्य गरिदिने दाबी गरेका थिए ।

तर राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले युक्रेनलाई ‘अट्याकम्स’ क्षेप्यास्त्र र जमिनमुनि गाडेर राखिने विस्फोटक अस्त्र ‘ल्याण्डमाइन’ प्रयोग गर्न अनुमति दिएको छ । अमेरिका र युक्रेनबीच भएको पछिल्लो सहमतिले रुस–युक्रेनबीचको युद्ध रोक्न ट्रम्प कति सफल होलान भन्ने प्रश्न उठेको छ ।

चुनावी अभियानका क्रममा ट्रम्पले उनले कसरी युद्धको अन्त्य गर्नेछन् भन्नेबारे विस्तृतमा बताएका थिएनन् । ट्रम्पले आफ्नो कार्यकालको सुरुमै युक्रेन र रुसलाई वार्ताको टेबलमा ल्याउने प्रयत्न गर्नेछन् भन्ने किएभको पूर्वानुमान छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समेत घुमाउरो तरिकाले कूटनीतिक माध्यमहरूमार्फत् अर्को वर्ष युद्ध टुङ्ग्याउनेबारे बोलेका थिए ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त सिमानाभित्रको युक्रेनको भूमिमध्ये २७ प्रतिशत हाल रुसको नियन्त्रणमा छ । त्यसमा क्राइमिया तथा सन् २०१४ मा रुसद्वारा कब्जा गरिएका देशका पूर्वी भूभागसमेत पर्छन् ।

युक्रेनका सुमी, खारकिभ, ओडेसा तथा किएभमा दैनिक रूपमा घातक बम तथा विस्फोटक बोकेका ड्रोनहरूमार्फत् हमला भइराखेका छन् । रुसले उत्तर कोरियाली सेना खटाएर कुस्र्क क्षेत्रमा ठूलो स्तरको प्रतिरक्षात्मक कारबाहीको तयारी गरिराखेको विवरणहरू आएका छन् । आकस्मिक अन्तरसीमा आक्रमणमार्फत् युक्रेनले गत अगस्टदेखि उक्त हिस्सामा नियन्त्रण जमाएको छ र सम्भावित शान्तिवार्ताका निम्ति लेनदेनको उपायका रूपमा त्यसको व्यवस्थापन गरिराखेको छ ।

रुस पनि शक्तिकै बलमा लेनदेन गर्ने कोसिसमा छ । बीबीसीले कुरा गरेका युक्रेनी विश्लेषक तथा सैन्य प्रतिनिधिहरू सन् २०२५ को जनवरीमा ट्रम्प सत्तामा आएसँगै युद्धविराम वार्ता सुरु हुनु सक्ने भएकाले त्यसका निम्ति काम लाग्ने ठानेर क्रेम्लिन सक्दो युक्रेनी भूमि हडप्ने हतारोमा रहेको बताउँछन् ।

युक्रेनलाई आफूद्वारा आपूर्ति गरिएका ‘अट्याकम्स’ क्षेप्यास्त्र रुसविरुद्ध प्रयोग गर्न दिने बाइडन नेतृत्वको बिदा हुँदै गरेको अमेरिकी प्रशासनको निर्णयसँगै युद्धको स्थितिमा नयाँ मोड आएको छ ।

यसअघि पनि क्राइमिया र पूर्वी युक्रेनमा हमला गर्नका निम्ति युक्रेनलाई ‘अट्याकम्स’ क्षेप्यास्त्र दिइएको थियो ।

रुसले जारी युद्धका क्रममा स्वयंद्वारा निर्मित ‘माइन’ को प्रयोग गर्दै आएको छ । रुसी ‘माइन’हरू युक्रेनले प्राप्त गरेका अमेरिकी ‘माइन’भन्दा भिन्न छन् । अमेरिकी ‘माइन’हरू केही हप्तासम्म मात्रै सक्रिय रहने गरी बनाइएको छ भने रुसी ‘माइन’हरू निस्क्रिय नपारेसम्म जोखिमयुक्त हुन्छन् । गएको साढे दुई वर्षमा करिब ३०० युक्रेनी नागरिकहरू ‘माइन’ दुर्घटनामा परी मारिएका छन् ।

ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसँगै धेरै पर्यवेक्षकहरू उनको रुस र युक्रेनसम्बन्धी शान्ति योजनाको विस्तृत विवरण सुन्ने प्रतीक्षामा छन् । अमेरिकी सञ्चारमाध्यमहरूले ट्रम्पले पुटिनलाई टेलिफोन गरेको र रुसी राष्ट्रपतिलाई युद्ध नचर्काउन चेतावनी दिएको भन्ने जस्ता विवरणहरू दिएका थिए तर क्रेम्लिनले त्यसको खण्डन गरेको छ ।

युक्रेन र रुसले जारी युद्धसम्बन्धमा नयाँ अमेरिकी प्रशासनको पहिलो कदमको प्रतीक्षा गरिरहँदा कुनै पनि किसिमका सम्भावित शान्तिवार्ता जटिल र लामो हुन सक्ने भने सुनिश्चित छ ।

द्वन्द्व समाधान गर्ने सन्दर्भमा दुवै देश र तिनका नेताहरू, राष्ट्रपतिद्वय जेलेन्स्की र पुटिनका धेरै कुरा दाउमा छन् र तिनीहरूको भविष्य उनीहरू भविष्यमा हुने कुनै पनि वार्ताबाट के कुरा हासिल गरेर बाहिर निस्कन सक्छन् भन्नेमा निर्भर गर्छ ।