जयशंकरसँगको भेटले शीर्ष नेताबीच विवाद उत्पन्न, कमल थापा र बाबुरामबीच जुहारी चल्यो

जयशंकरसँगको भेटले शीर्ष नेताबीच विवाद उत्पन्न, कमल थापा र बाबुरामबीच जुहारी चल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दुई दिने नेपाल भ्रमण सकेर भारत फिर्ता भईसकेका भारतीय विदेशमन्त्री यस जयशंकर र नेपालका शीर्ष नेताहरुबीच भएको भेटले शीर्ष नेताहरुबीच विवाद उत्पन्न भएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले बिहिबार बेलुका एक ट्वीट गर्दै समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईलाई लीक्षत गर्दै पूर्व प्रधानमन्त्री जस्तो सम्मानित व्यक्तिले एक विदेशमन्त्रीलाई उनकै होटलमा गएर औपचारीक रुपमा भेट्नु ‘प्रोटोकल’ को ख्याल नगरेको बताएका छन् ।

उनले ट्वीट गरेर देउवा, भट्टराईसहितले कूटनीतिक मर्यादा र स्वाभिमानको उपेक्षा गरी लम्पसारवादको नमूना पेश गरेको उल्लेख गरे ।

समाजवादी पार्टी नेपालका नेता भट्टराईले कमल थापाको ट्वीटको जवाफ दिँदै शुक्रबार बिहान लेखेका छन्, ‘शिशाको घरमा बस्नेले अर्काको झोपडीमा ढुंगा हान्नुहुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला, सुगौली सन्धि यताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसँग देशको हितमा खुला सम्बन्ध राख्ने पक्षमा छौँ ।’

कमल थापाले भट्टराईको यो ट्वीटमा जवाफ दिँदै लेखेका छन्, ‘खुला मित्रतापूर्ण सम्बन्धबारे मेरो मित्रको धारणासँग सहमत छु । त्यस्तो सम्बन्ध समानता, स्वाभिमान र मर्यादाभित्र रहोस् र सुगौली सन्धिपछि धेरै लामोसमय कायम आत्मसमर्पण अन्तहोस् भन्ने मेरो मान्यता हो । सम्मानित पूर्वप्रमले एक विदेशी मन्त्रीलाई उसकै होटलमा औपचारिकरुपमा भेटेको अलि सुहाएन कि?’

‘प्रोटोकल’ नमिल्ने भन्दै पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल जयशंकरलाई भेट्न उनी बसेको होटलमा गएनन् । तर कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, समाजवादी पार्टी नेपालका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेताहरु भने जयशंकरलाई भेट्न उनी बसेको होटल द्वारिकामै पुगेका थिए ।