काठमाण्डु- अमेरिकी सेनाले नेपाली सेनासमक्ष प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौता विवादमा परेको छ ।
हाल विवादमा तानिएको एसपीपी सम्झौतामा संलग्न हुन नेपाली सेनाले सन् १०१५ मा पत्राचार गरेको पुष्टि भएको हो ।
सन् २०१५ को अक्टोबर २७ मा (२०७२ कात्तिक १० गते) तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपाल सरकारका तर्फबाट एसपीपीमा संलग्न हुन नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेखेका थिए ।
त्यतिबेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । ओली २०७२ असोज २५ गते पहिलो कार्यकालमा प्रधानमन्त्री नियुक्त भएका थिए । ओली प्रधानमन्त्री भएको करिब १५ दिनपछि नेपाली सेनाले पत्र पठाएको थियो ।
बुधबार अमेरिकी दूतावासले पत्रकारहरुसँगको कुराकानीमा नेपालले सन् २०१५ र सन् २०१७ मा एसपीपीमा सहभागी हुन पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले स्वीकार गरेको प्रष्टीकरण दिएको थियो । तर नेपाली सेनाले बुधबार नै विज्ञप्ति जारी गर्दै एसपीपीमा सहभागी हुन पत्राचार नगरेको दावी गरेकाे छ ।
अमेरिकी सेनाको युनाइटेड स्टेट्स युरोपियन कमाण्ड (ईयुकम)ले सन् १९९३ मा पहिलो पटक एकै पटक ११ पूर्वी युरोपेली तथा पूर्व कम्युनिस्ट मुलुकमा एसपीपी कार्यक्रम सुरु भएको थियो ।
नेसनल गार्डको आधिकारिक वेबसाईट अनुसार हाल विश्वका ९३ राष्ट्रले अमेरिकासँग एसपीपीमा हस्ताक्षर गरिसकेका छन् । उसको बेभसाईटमा ९३ मुलुकमा नेपालसमेत देखाइएको छ । नेपालले सन् २०१९ मा उताह राज्यको नेसनल गार्डसँग काम गर्ने गरी एसपीपीमा हस्ताक्षर गरेको नेसनल गार्डले देखाएको छ ।





प्रतिक्रिया