सागको समापन आज, प्रधानमन्त्रीले सम्बोधन गर्ने


काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आज समापन हुँदैछ । नेपाल र भुटानबीच हुने फुटबल खेलको फाइनलपछि साग समापन हुनेछ ।

साग फुटबलको साविक विजेता नेपाल र पहिलो पटक फाइनल पुगेको भुटानबीच स्वर्ण पदकका लागि दिउँसो ३ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा हुने छ ।

साग समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रबिधिमार्फत सम्बोधन गर्ने तयारी छ ।

५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुने समापन समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथी रहने छन् ।

त्यसैगरी युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा), नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिब सिलवालले सम्बोधन गर्ने कार्यक्रम छ ।

समापन समारोहकै अवसरमा १४ औं साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ । त्यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई प्रबर्द्धन गर्ने गरी बिशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए ।

सो अवसरमा साग ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको सन्देश दिनेगरी मार्च पास, सांस्कृतिक कार्यक्रम र आतिसबाजी गरिनेछ । समापनका दिन कार्यक्रम स्थलका प्याराफिटलाई बिभिन्न श्रेणीमा वर्गिकरण गरी व्यवस्थित गरिने राखेपले जनाएको छ ।

प्याराफिटमा भीभीआईपी, भीआईपी, पत्रकार, पदक बिजेता खेलाडी, विदेशी, कर्मचारीलगायतलाई भिन्दाभिन्दै क्षेत्र बनाएर बस्ने ब्यवस्था गरिने भएको छ ।

फुटबल प्रतियोगिताको फाईनल हेर्नका लागि दुई हजार र एक हजार दरका टिकटको ब्यवस्था गरिएको छ । तिनै टिकटले समापन समारोहमा पनि सहभागि हुन सकिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement