काठमाण्डु – राष्ट्रका न्यायाधीश, कानुन व्यवसायी, कानुनी क्षेत्रका प्राज्ञिक व्यक्तिहरुको संस्था ‘सार्क ल’ नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेको छ ।
सार्क लले विज्ञप्ति जारी गर्दै विकृति, विसंगति र भ्रष्टाचार नियन्त्रण गरी न्यायालयको समग्र सुधारका लागि प्रधानन्यायाधीश नै बाधक देखिएको भन्दै राजीनामा माग गरेकाे हाे ।
न्यायालयको साख र जनआस्था वृद्धि गर्ने संवैधानिक दायित्वबाट विमुख भएको तथा न्यूनतम पदीय जिम्मेवारी, संवैधानिक आचरण र नैतिक एवं कार्यदक्षता नदेखिएको ‘सार्क ल’को ठहर गरेको छ ।
जबराप्रति नेपाल बार एशोसिएसन, सर्वोच्च बार, न्यायकर्मीको विश्वास टुटेको, उनको उपस्थितिमा न्यायालय, संवैधानिक परिषद्, न्याय परिषद् तथा न्यायसेवा आयोगसमेत काम गर्न नसक्ने अवस्था आएको उसले उल्लेख गरेको छ ।
‘यो वर्तमान जटिल अवस्थाको तत्काल अन्त्य गर्नका लागि प्रधान्यायाधीश चालेन्द्रशम्शेर जबराको तत्काल बर्हिगमन हुनुपर्ने देखिएकाले निजबाटै राजीनामा दिनु समग्र न्यायपालिकाको स्वतत्रता, स्वच्छ र निष्पक्षताका लागि उचित हुन्छ,’ सार्क ल नेपालद्धारा जारी विज्ञप्तिमा भनिएकाे छ ।
सार्क ल नेपालले जबराको बहिर्गमनका लागि संवैधानिक दायित्व निर्वाह गर्न संसद, राजनीतिक दल र सरोकारवालाहरुलाई अपील समेत गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान अध्यक्ष रहेको सार्क ल नेपालमा तुलसी भट्ट उपाध्यक्ष छन भने न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयाल सदस्य छन् ।




प्रतिक्रिया