गैँडाकोटमा भेटिएका दुईमध्ये एक शवको परिचय खुल्यो

गैँडाकोटमा भेटिएका दुईमध्ये एक शवको परिचय खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वीनवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा भेटिएको दुईमध्ये एक पुरुषको शव चितवनको नारायणजगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता पारेको गणपति डिलक्सका यात्रु पुष्टि भएको छ।

शव सर्लाही बरहथवा नगरपालिका ३ बस्ने वर्ष १९ का रमित कुशर माझीको भएको प्रहरीले जानकारी दिएको हो । उनका बुवा रविन्द्र कुशर माझीले छोराको पहिचान गरेका हुन्।

उनी काठमाण्डुबाट गौर जाँदै गरेको प्रदेश ०३ ००१ ख २४९५ नम्बरको गणपति डिलक्समा सवार यात्रु हुन्। गैँडाकोटमै फेला परेको अर्को शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

आज दिउँसो माछा मार्ने बोटेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। गैँडाकोटमा प्रकृति मुचुल्का उठाइ शव पहिचानका लागि चितवन ल्याइएको थियो।

प्रहरीले बेपत्ता बस र यात्रुको खोजीका लागि विपद् उद्धारका सम्पूर्ण शक्ति प्रयोग भइरहेको बताएको छ। आज सशस्त्र प्रहरीको गोताखोर टोलीले स्नेक आइ क्यामराको सहयोगमा खोजी गरिरहेको छ। उक्त क्यामराले पानीमुनी रहेका वस्तु पहिचानमा सहयोग गर्छ।

शुक्रबार विहान अन्दाजी ३ बजेतिर नारायणजगढ(मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा माथिबाट खसेको पहिरोसँगै बगेका यात्रुसहितका दुई बस त्रिशूली नदीमा डुबेर बेपत्ता भएको हो। दुवै बसमा ५४ जना यात्रु रहेको खुले पनि संख्या अझै तलमाथि हुनसक्ने प्रहरीले जनाएको छ।

सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन्। शुक्रबारदेखि बेपत्ता बस र यात्रीको खोजीका क्रममा एञ्जल डिलक्सको पर्दा र बच्चाको सुरुवाल फेला परेको थियो ।