काठमाडौं – सभामुखमा नेकपा, कांग्रेस र राजपाले दाबी गरेका छन् । राजधानीमा भएको उक कार्यक्रममा नेताहरुले आफ्ना पार्टीले सभामुख पाउनुपर्ने दाबी गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले संसद बैठक यतिवेलासम्म बोलाईसक्नुपर्ने स्थिति रहेकोमा त्यसमा ढिलाई भएको गुनासो पोखेका छन् ।
उनले भने,‘देशमा यत्रो समस्या छ, यसका बारेमा संसदलाई जानकारी हुनुपर्छ । यस विषयमा संसदमा छलफल हुनुपर्ने हो ।’
उनले संविधानमा स्पष्ट रुपमा लेखिएको सभामुख र उपसभामुख एउटै दलको हुनुहुँदैन भन्ने व्यवस्थालाई वर्तमान सरकारले बेवास्ता गरेको र संविधान नै नाघेर अघि बढेको पनि आरोप लगाए । उनले भने,‘अहिले संविधान नाघिएको छ । संविधानको मर्म र भावनालाई कुल्चने काम भयो । हामीले यसका विरुद्धमा संसद र अन्य ठाउँमा सशक्त आवाज उठायौं ।’
जोशीले सबै दल मिलेर संविधान बनाएको बताउँदै यसलाई पालना गर्नु सबैको कर्तव्य भएको सुनाए । उनले भने,‘सरकारले संविधानको मर्म र भावनालाई ग्रहण गरोस् ।’ संवैधानिक परिषदमा पनि सबैलाई समेटेर बढ्नुपर्नेमा अहिले सरकार दुई तिहाईको दम्भमा पेलेर अघि बढ्न खोजेको उनको टिप्पणी छ ।
उनले भने,‘प्रतिपक्षी भनेको वेटिङ गभर्मेन्ट हो । अहिले सरकारले विभिन्न विद्येयक ल्याउँदापनि लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चेर र यसको विरुद्धमा ल्याएको छ ।’ जोशीले सभामुखमा आफ्नो पार्टीको प्रमुख दाबी रहेको सुनाए । उनले भने,‘हामी अपोजिशन पार्टी हौं, सभामुखमा हाम्रो दाबी छ ।’
त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सभामुख चयनपनि तत्काल गर्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘संविधानले सभामुखको रिक्तताको परिकल्पना गर्दैन् । छिटो भन्दा छिटो सभामुख चयन गरिनुपर्छ । दलहरुको सहमतिमा यसबारेमा निर्णय लिनुपर्छ । सभामुख संविधानअनुसार चयन गरिन्छ ।’ संविधानमा नै सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने व्यवस्था गरेकोले सोहीअनुसार अघि बढ्नेपनि गुरुङको विश्वास छ ।
उनले सभामुख अहिलेका दलहरुको संरचना र कम्पोजिसन हेर्दा नेकपालै दाबा गर्नुपर्ने आवश्यकत्ता रहेको सुनाए । उनले भने,‘हामी सबै दलहरुबीच खुल्ला छलफल गर्छौं ।’
उनले नेकपाभित्र कसलाई सभामुख बनाउने रु भन्नेबारे अहिले संसदीय दलको बैठकमा छलफल नभएपनि शीर्ष नेताहरुको तहमा अनौपचारिक छलफल भएको सुनाए । उपसभामुखको राजीनामाबारे सोधिएको एक प्रश्नमा उनले उपसभामुखको स्वेच्छिक निर्णयको कुरा भएको बताए । उनले प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज भएकोले हिउँदे अधिवेशन बोलाउनको लागि मन्त्रिपरिषद बैठक बोलाएर राष्ट्रपतिकहाँ सिफारिश गर्ने बताए ।
सत्तारुढ दल समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले सभामुखमा आफ्नो पार्टीको प्रमुख दाबी रहने स्पष्ट पारेका छन् ।
उनले भने,‘सभामुखमा मधेशी, आदिवासी, जनजाति हुनुपर्छ, हाम्रो पार्टीलाई सभामुख दिईनुपर्छ ।’ उनले संसदको हिउँदे अधिवेशनपनि छिटोभन्दा छिटो बोलाउनुपर्ने बताए ।
अरगरियाले संसद सुचारुको विषयमा संविधानमा र प्रतिनिधिसभाको नियामावलीमा बेग्लाबेग्लै व्यवस्था गरिएको पनि सुनाए । उनले भने,‘संसदको सुचारु गर्न र अन्त्य गर्न सभामुख नै चाहिने व्यवस्था नियमावालीमा गरिएको छ । संविधानमा पनि त्रुटि छ, त्यसैले संविधान संशोधन गर्न अति नै आवश्यक छ ।’ उनले पहिले पहिले हिउँदे अधिवेशन पुस १३ गते सुचारु गरिएको दृष्टान्त पेश गरे । तर, यसपटक सभामुख नभएको अवस्थामा हिउँदे अधिवेशन केही ढिलो हुनसक्ने उनको भनाई छ ।
तर, हिउँदे अधिवेशन बोलाउनको लागि सभामुखको जरुरी नै नभएको उनको तर्क छ । उनले भने,‘संसद सचिवालयले सरकारलाई पत्राचार गर्ने हो, सरकारले मन्त्रिपरिषदको बैठक राखेर राष्ट्रपतिलाई सिफारिश गर्ने हो । राष्ट्रपतिले त्यसपछि मिति आह्वान गर्ने हो । हिउँदे अधिवेशन बोलाउने प्रक्रियामा कुनै बञ्चित छैन् ।’ देशमा विद्यमान समस्याहरुको समाधानको लागि पनि छिटो भन्दा छिटो हिउँदे अधिवेशन बोलाउनुपर्ने उनको माग छ । उनले भने,‘यसबारेमा म सरकारको ध्यानाकार्षण गराउन चाहन्छु ।’




प्रतिक्रिया