श्रीमती हुँदा कहिल्यै ग्लानी भएन तर पेशामा आत्मग्लानी भयो : महान्यायाधिवक्ता भण्डारी

श्रीमती हुँदा कहिल्यै ग्लानी भएन तर पेशामा आत्मग्लानी भयो : महान्यायाधिवक्ता भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले न्यायिक सेवामा काम गर्दा आत्मग्लानीको अनुभव हुने गरेको खुलासा गरेकी छन् ।

बिहीबार काठमाण्डुमा आयोजित महिला सरकारी वकिल सम्मेलनलाई सम्बोधन गर्दै उनले पेशागत यात्राका चुनौतीबारे व्यक्तिगत अनुभूति सार्वजनिक गरेकी हुन् ।

‘विवाह गरें, श्रीमती भएँ, कहिल्यै ग्लानी भएन,’ उनले भनिन्, ‘तर यो पेशामा आउँदा भने पटक–पटक आत्मग्लानी भएको छ । तर हामी आत्तिनु हुँदैन, म यो ठाउँमा पुग्न धेरै संघर्ष पार गरेर आइपुगेकी हुँ ।’

भण्डारीले महिलाको नेतृत्वले हासिल गरेको वर्तमान अवस्थालाई सकारात्मक परिवर्तनको संकेतको रूपमा लिँदै सबैलाई आशावादी बन्न आग्रह गरिन् ।

‘अब हामी आएका छौं । प्रधानन्यायाधीश महिला पाएका छौं, राष्ट्रपति महिला पाएका छौं, सभामुख महिला पाएका छौं, महान्यायाधिवक्ता पनि महिला पाएका छौं । यसमा हामी खुसी हुनुपर्छ,’ उनले भनिन् ।

महान्यायाधिवक्ता भण्डारीले सरकारी वकिल सेवा र न्यायिक इतिहासको सन्दर्भमा २००८ सालमा पहिलो महान्यायाधिवक्ताको नियुक्तिदेखि सुरु भएको यात्रालाई स्मरण गर्दै सेवा सरकारको हकहितको संरक्षणमा महत्वपूर्ण रहँदै आएको बताइन् ।

‘आज हामी एउटा ऐतिहासिक क्षणको साक्षी बनेका छौं । विक्रम संवत् २००८ सालमा पहिलो महान्यायाधिवक्ताको नियुक्तिसँगै सुरु भएको यात्रा ७ दशक लामो संस्थागत विकास र सरकारको हकहितको संरक्षणमा सरकारी वकिलले निर्वाह गरेको गौरवशाली योगदानलाई स्मरण गर्दै नयाँ ऊर्जा र आशाको सञ्चार गरेको छ,’ उनले भनिन् ।

कार्यक्रममा महिला सरकारी वकिलहरूको सशक्तीकरण, न्यायिक प्रणालीमा लैङ्गिक समानता र नेतृत्व विकासका विविध पक्षमा छलफल भएको थियो ।