काठमाण्डु–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सीडीई) सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ।
आयोगले यादवविरुद्ध कुल ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ।
अख्तियारका अनुसार, यादवको नियुक्ति (२०६६ जेठ २४) देखि २०७९ साउन २९ सम्मको अवधिमा उनको आम्दानी स्रोतको अनुसन्धान गर्दा विभिन्न स्रोतबाट कुल २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँ ७२ पैसा आय भएको देखिएको थियो।
यसमा पारिश्रमिक, दैनिक भ्रमण भत्ता, जीवन बीमा रकम, हिमाल आरोहणको समयमा प्राप्त भत्ता, आंशिक परामर्शदाताको आम्दानी, घर बहाल रकम, बैंक कर्जा, कृषि आय, जग्गा बिक्री, शेयर बिक्री र बैंक मौज्दातमा प्राप्त ब्याज लगायतका रकम समावेश छन्।
त्यसै अवधिमा यादव र उनका परिवारले कुल ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ ९१ पैसा खर्च र लगानी गरेका थिए। यसरी हिसाब गर्दा ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन सकेको छैन, जुन गैरकानुनी आर्जन ठहर भएको छ।
आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०, ४७ र १६ बमोजिम कैद तथा जरिवाना माग गरेको छ। यसैगरी, यादवले सार्वजनिक पदमा रहँदा आर्जन गरेको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको पाइएपछि, संबन्धित सम्पत्ति जफत गर्न उनलाई प्रतिवादी बनाउँदै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।




प्रतिक्रिया