अविरल वर्षापछि देशभरका मुख्य सडकहरुको के छ अवस्था ?

अविरल वर्षापछि देशभरका मुख्य सडकहरुको के छ अवस्था ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अविरल वर्षाका कारण मुलुकका विभिन्न राजमार्गमा क्षति पुग्न गई सवारी आवागमन अवरुद्ध भएको छ।

मौसम क्रमशः खुल्दै गएपनि पृथ्वी लोकमार्गको जवाङखोला सडकमा माथिबाट पहिरो खस्न जाँदा पूर्णरुपमा बन्द भएको छभने उक्त सडकखण्डमा सवारी आवागमन होल्ड गरिएको छ।

त्यस्तै आइतबार बिहान ११ बजेसम्मको अवस्थाअनुसार देशभरका विभिन्न राजमार्ग र सडक खण्डमा कतै आवागमन सहज त कतै अवरोध कायम रहेको छ ।

नागढुंगा–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा रहेको छ भने नारायणघाट–बुटवल सडक दाउन्ने खण्डमा कुनै अवरोध नभएको सड्क विभागले जनाएको छ । विभागका अनुसार मुग्लिङ–नारायणघाट सडकमा तुइन खोला खण्ड दुईतर्फी सञ्चालनमा छ तर नाम्सी खोलामा नयाँ पुलमा ढुंगाखस्दा अवरोध भएको छ भने पूरानो पुलबाट सवारी सञ्चालन भइरहेको छ ।

विभागले सिद्धार्थ राजमार्गमा कुनै अवरोध नभएको जनाएको छ । काठमाडौंफर्पिङ-भैसे-हेटौंडा मार्गमा टेक्करमा पहिरो र सिस्नेरी बजारमा नदीले सडक कटान गरेकाले आवागमन बन्द छ । खुलेखानी–फाकेल–काठमाडौं सडकमा पहिरो हटाइए पनि भिजेको सडकमा क्षति हुने जोखिम भएकाले यातायात बन्द गरिएको छ ।

त्रिभुवन राजमार्ग उर्लेनी डाँडामा पहिरोले अवरुद्ध छ, दिउँसो १२ बजेपछि सञ्चालन हुने अपेक्षा रहेको विभागले जनाएको छ । अरनिको राजमार्गमा खावा खण्डमा एकतर्फी आवागमन खुलेको छ । कान्ति लोकपथमा सानो पहिरो पन्छाउने काम भइरहेकोले दिउँसो १२ बजेपछि खुल्ने जनाइएको छ ।

मेची कोरिडोरमा मैखोला पुल बगाएको छ भने पुवा खोला र जोगमाई बेली पुल डुबानमा परेका छन् । भिमाद–डेढगाउँ(कालीगण्डकी कोरिडोर)मा भिमाद खण्डमा दुई किलोमिटर डाइभर्सन अवरुद्ध भएकोले मिनीबस, माइक्रो, जीप आवतजावत गर्न सक्ने भए पनि कार र ठूला बसका लागि उपयुक्त नभएकाो जानकारी दिइएको छ ।

हुलाकी सडकमा बिर्तामोड क्षेत्रमा क्षति नदेखिएको भए पनि कमला क्षेत्रमा बाढी स्तर उच्च रहेको र लोहेन्द्र पुलमा जोखिम रहेको विभागले जनाएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत भालुखोला पुल डाइभर्सन बगाएको र कालीखोला डाइभर्सन पनि मेचिनगर क्षेत्रमा बगाएकोले सडक अवरुद्ध भएको जनाइएको छ ।

त्यस्तै, धरान–धनकुटा सडक अवरुद्ध छ भने हिले–पाख्रिबास–लेगुवा सडक पूर्णरूपमा बन्द छ । मध्यपहाडी सडकखण्ड (रामेछाप÷सिन्धुली खण्ड) मा ठूलो संख्यामा पहिरो खसेको छ, उपकरण परिचालन भए पनि आँखरे भीरमा ठूलो पहिरोले आवागमन रोकिएको छ । जयराम–हलेसी खण्डमा पाँच–छ अवरोध छन् ।

अन्य खण्डमध्ये गोरखा, पर्वत, दैलेख क्षेत्रमा समस्या नभएको जनाइएको छ भने बागलुङ-बुर्तिवाङ खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।