काठमाण्डु – बाढी–पहिरो र वर्षाका कारण कोशी र बागमती प्रदेशका पाँच ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले आज बिहान ७ बजे सार्वजनिक गरेको विवरण अनुसार संखुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका पाँच ठाउँमा राजमार्ग अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको हाे ।
अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुणमा कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही जिल्लाको मकालु गाउँपालिका–३, एकुवामा अविरल वर्षाका कारण कोसी राजमार्ग समेत अवरुद्ध भएको छ। यो सडक विगत लामो समयदेखि अवरुद्ध रहेकोछ ।
रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीका कारण अवरुद्ध सडक खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा नेपाल–चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन । नेपाल–चीन नाका जोड्ने पुल, पासाङल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४, चारकिलाृमा खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।





प्रतिक्रिया