काठमाण्डु- मंगलबारदेखि परेको लगातारको वर्षापछि आएको बाढीपहिरोले विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।
बाढीले नारायणघाट–बुटवल सडक फेरि अवरुद्ध भएको छ। दाउन्ने–बर्दघाट खण्डको खुर्साने खोलानजिकै सडकको केही भाग वर्षाको कारण बगेको कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
वर्षाको कारण क्षति भएको सडकको मर्मत कार्य सुरु भइसकेको नारायणघाट–बुटवल सडक योजनाले जनाएको छ। बुधबार दिउँसोसम्ममा सडकको मर्मत पूरा हुने र दुवैतर्फ सवारी सञ्चालन हुने आयोजनाले बताएको छ ।
वर्षापछि खुर्सानी खोलानजिक सडक भाँसिएसँगै सोही ठाउँमा लु१क ५८२७ नम्बरको ट्रक फसेपछि उक्त खण्डमा रातिदेखि नै यातायात पूर्णरुपमा बन्द भएको हो ।
बर्दघाट नगरपालिका वडा नम्बर-४ दाउन्ने जंगल खुर्सानी खोलास्थित पूर्व पश्चिम राजमार्गमा बर्षातको कारण सडक करिब ३४ फिट जति भासिन जाँदा, बाटो दुईतर्फी नै बन्द भएको हो ।
यस्तै रसुवाको धुन्चे–स्याफ्रुबेसी सडक पनि पहिरोले अवरुद्ध भएको छ । ठूलो भार्खु भन्ने ठाउँमा पहिरो झरेपछि धुन्चे–स्याफ्रुबेसी सडकखण्ड अवरुद्ध भएको हो ।
प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले पहिरो हटाउने प्रयास गरिरहेको छ । तर पहिरो झरिरहेकाले केही समय लाग्ने प्रहरीले जनाएको छ ।
मंगलबार तिब्बत हुँदै बग्ने भोटेकोशी नदीको बाढी र पहिरोले स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड पनि अवरुद्ध छ । बाढीमा परी ९ जनाको शव भेटिएको छ भने १९ जना अझै बेपत्ता छन् । बाढीले रसुवामा पुल, सडक, भन्सार कार्यालयमा क्षति पुर्याएको छ भने मालवाहक र साना सवारी साधन समेत बगाएको छ ।
सडकमार्गमा क्षति पुगेकाले राहत तथा उद्धार कार्यमा कठिनाइ भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
यतालगातारको वर्षाका कारण गुल्मी जिल्लाका दुई फरक स्थानमा पहिरो र बाढीका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् ।
सत्यवती गाउँपालिका वडानम्बर–६ स्थित डहरे खोलामा पानीको बहाव अत्यधिक बढेपछि रिडी–वामीटक्सार सडकखण्ड बुधबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यस्तै, कालीगण्डकी गाउँपालिका वडानम्बर–१, गरगरे भन्ने स्थानमा कालीगण्डकी करिडोर अन्तर्गतको सडकमा माथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अबरुद्ध भएको छ ।
यसैगरी मंगलबार रातिदेखि परेको अविरल बर्षका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका–९ पिन्थलीबेशी, फेदीखोला र रोशी–७ को चारसय बेशीमा राजमार्ग अवरुद्ध भएको हो ।
प्रहरी निरीक्षक कार्कीका अनुसार फेदीखोलाको लेदो हटाइसकिएको र पिन्थलीबेशी र रोशी ७ को चारसय बेशीमा हटाउने क्रम जारी रहेको जानकारी दिए ।
राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरुलाई होल्डमा राखिएको छ । लेदोको कारण सडक अवरुद्ध भएकोले सिन्धुली जिल्लाबाट काभ्रेतर्फ जाने सम्पूर्ण सवारी साधनलाई होल्डमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
त्यसैगरी, कोशी प्रदेशमा कोशी राजमार्ग (सङ्खुवासभा) र मेची राजमार्ग (पाँचथर) पनि बाढी र अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द छन्।
बागमती प्रदेशमा पनि पहिरो र बाढीले सडकमा असर पारेको छ। कान्तिलोक पथ (मकवानपुर) र रसुवाको गोसाइँकुण्डमा नेपाल र चीन नाका जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध छ। यद्यपि, काभ्रेको बनेपा–नाला–भक्तपुर सडक खण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ।








प्रतिक्रिया