बाढीपहिरोका कारण दर्जन बढी सडक पूर्णरुपमा बन्द

बाढीपहिरोका कारण दर्जन बढी सडक पूर्णरुपमा बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार दर्जन बढी सडक पहिरो, सडक कटान र सम्भावित बाढीका कारण प्रभावित भएका हुन् ।

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने सञ्चालनमा छ ।

काभ्रेपलाञ्चोक(सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ देखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

यस्तै कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन् ।

लामासाँघु–रामेछाप सडकखण्डको दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ । यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी सडक, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रुकुम पश्चिमको रिजेगार्ड खोलास्थित भेरी करिडोर तथा मुस्ताङको थासाङ गाउँपालिका–४ कैकु खोलास्थित बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् ।

म्याग्दीमा रघुगङ्गा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–७ भिरकाटे क्षेत्रमा सडक बगाउँदा बेनी–जोमसोम सडकखण्डका दुई स्थानमा यातायात अवरुद्ध भएको छ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ लेखस्थित मदन भण्डारी सडकखण्डमा सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।