काठमाण्डु- सुनसरी, सिरहासहित तराई–मधेसका जिल्लामा भएका घटना र त्यसपश्चात् भइरहेका प्रदर्शनका कारण प्रतिकूल अवस्था सिर्जना हुन नदिन र सम्पूर्ण समुदायबीच आपसी सद्भाव, मेलमिलाप, भाइचारा तथा सहिष्णुता कायम राख्न देशका विभिन्न स्थानमा शनिबार सामाजिक सद्भाव र्याली गर्न लागिएको छ ।
सामाजिक सद्भाव कायम गर्न जनकपुरमा शनिबार वृहत सद्भाव र्याली आयोजना गर्न लागिएको छ ।
प्रतिनिधिसभा सदस्य रामविनोद यादवले विभिन्न धर्म, जातजाति, भाषाभाषी एवम् सम्प्रदायका नागरिकहरूबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न जनकपुरधामम सबै दलको सहयोगमासद्भाव र्याली आयोजना गरिने बताए ।
त्यसैगरी जनकपुरधामसहित पालिकाहरु र जिल्ला स्तरमा समेत सर्वपक्षीय सर्वदलीय सद्भाव र्याली निकालिने यादवले जानकारी दिए ।
यस्तै, हेटौँडामा पनि शनिबार बृहत सद्भाव र्याली आयोजना गरिँदैछ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सद्भाव र्यालीमा सहभागिताका लागि सबैलाई आह्वान गरेका छन्। शनिबार दिउँसो ४ बजे हेटौँडा उपमहानगरपालिका–४ हुप्राचौरमा जम्मा भई बृहत सामाजिक सद्भाव र्याली गर्न लागिएको उनले बताए ।
सम्पूर्ण धार्मिक सङ्घसंस्थाका अगुवा तथा प्रतिनिधि, विभिन्न धर्मसंस्कृतिमा आस्था राख्ने धर्मावलम्बीहरू, जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधिहरू, विभिन्न हितसमूहहरू, अधिकारकर्मीहरू, आमसञ्चारकर्मी, टोल विकास संस्था, गैरसरकारी संस्था, नागरिक समाज, सुरक्षा निकाय, सरकारी निकायका कर्मचारीलगायत आमजनसमुदायको सहभागितामा र्यालीलाई सफल बनाउन पनि प्रशासनले सबैमा अनुरोध गरेको छ।
यस्तै नेपालगञ्जमा पनि शनिबार सद्भाव र्याली निकालिँदैछ । जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शनिबार बिहान नेपालगन्जको बीपी चोकदेखि धम्बोझी चोकसम्म सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो।




प्रतिक्रिया