काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आइतबार सुरु हुँदै छ। नेपालले सन् २०१६ मा यो प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको थियो। नेपालले जिम्मेवारी पाएको दुई वर्षभित्र यो प्रतियोगिता आयोजना गर्नुपथ्र्यो। तर, अपर्याप्त भौतिक पूर्वाधारका कारण पटकपटक प्रतियोगिता स्थगित हुँदै आएको थियो।
चौथो पटक तोकिएको मितिमा आएर १३औं सागले साकार रूप लिने अवसर जुरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उद्घाटन गर्नेछिन्। १३औं सागकै लागि रंगशाला पुनर्निर्माण गरिएको हो। विनाशकारी भूकम्पले रंगशालामा समेत क्षति पुर्याएको थियो। त्यसयता रंगशालामा हुन लागेको यो पहिलो प्रतियोगिता हो।
सागलाई दक्षिण एसियाली क्षेत्रको ‘मिनी ओलम्पिक’ का रूपमा हेरिन्छ। यसपटक प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन्। यसअघि सागमा आठ राष्ट्रको सहभागिता रहने गरेको थियो। यो संस्करणदेखि अफगानिस्तानले सागमा भाग नलिने निर्णय गरेको छ। यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया