काठमाण्डु – युवा अभियन्ता सागर ढकालले मुलुकको विकास र राजनीतिक स्थिरताका लागि अब बन्ने प्रधानमन्त्रीले पूरा ५ वर्षको कार्यकाल चलाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
बिहीबार साँझ सामाजिक सञ्जाल फेसबूकमा आफ्ना विचार राख्दै ढकालले नेपालको ७५ वर्ष पुराना समस्याहरू हल गर्न समय लाग्नु स्वाभाविक भएको भन्दै अबको नेतृत्व स्थिर हुनुपर्नेमा जोड दिए ।
ढकालले प्रधानमन्त्रीलाई कमजोर बनाएर हटाउने र फेरि आफू शक्तिमा पुग्ने ‘रोग’ नेपालमा सदियौंदेखि रहेको टिप्पणी गरे । उनका अनुसार यस्तो प्रवृत्तिले देशलाई कहिल्यै अगाडि बढ्न दिँदैन ।
‘प्रधानमन्त्रीलाई कमजोर बनाएर हटाएर फेरि आफू हुने रोग सदियौंदेखिको हो, यो अब अन्त्य हुनुपर्छ र हुन्छ,’ उनले लेखेका छन् ।
प्रधानमन्त्री पदलाई ‘मासुको टुक्रा’सँग तुलना गर्दै ढकालले नेतृत्वका लागि हुने अस्वस्थ प्रतिस्पर्धाप्रति कडा आपत्ति जनाए । उनले जो प्रधानमन्त्री भए पनि ५ वर्षका लागि हुनुपर्ने र त्यस अवधिमा कुनै पनि राजनीतिक सम्झौता गर्न नहुने सुझाव दिए ।
‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन । जो हुने हो हुनुस् तर ५ वर्षमा कुनै सम्झौता नगर्नुस्,’ ढकालले लेखेका छन् ।
मुलुकका लागि अब अस्थिरता र व्यक्तिगत इच्छा आकांक्षाहरू पर्याप्त भइसकेको भन्दै उनले अब देशको हितका बारेमा सोच्न सबैलाई आग्रह गरे । उनले भगवान्ले सबै नेता र नागरिकलाई आफ्नो स्वार्थभन्दा माथि उठेर देशको बारेमा सोच्ने शक्ति प्रदान गरुन् भन्दै प्रार्थना समेत गरेका छन् ।
काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबिच आसन्न चुनावमा सहकार्य गर्नेबारेमा छलफल चलिरहेका बेला उनको यस्तो धारणा आएको छ ।




प्रतिक्रिया