काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सागर ढकालले गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
ढकालले सामाजिक सञ्जाल फेसबूकमार्फत आफू गुल्मी–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने जानकारी दिएका हुन् ।
ढकालले गुल्मी र वरपरका जिल्लालाई नेपालकै बौद्धिक शक्ति केन्द्रको संज्ञा दिँदै गुल्मीको क्षमता देशको समग्र कायापलटमा प्रयोग गर्नुपर्ने बताएका छन् । उनले भारतको गुजरात राज्यलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ‘गुल्मी–गुजरात मोडेल’मार्फत नेपालको विकास सम्भव हुने दाबी गरेका छन् ।
उनका अनुसार लोकसेवामा गुल्मीको उपस्थिति सधैं बलियो रहँदै आएको छ र गुल्मेली समाजमा बौद्धिकता, इमान्दारिता र उत्कृष्टता स्वाभाविक रूपमा रहेको छ । अब यही क्षमतालाई आगामी २५ वर्षमा देशको विकासका लागि परिचालन गर्नुपर्ने उनको भनाइ छ ।
ढकालले स्थिर सरकार, प्रशासनिक सुधार र दीर्घकालीन राजनीतिक नेतृत्व विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउने उल्लेख गरेका छन् । उनले इतिहासमै पहिलोपटक ५ वर्षसम्म एकै प्रधानमन्त्री रहने व्यवस्था स्थापित गर्नुपर्ने र कर्मचारीतन्त्रका समस्या समाधान गरेर देशको काँचुली फेर्ने लक्ष्य लिएको बताएका छन् ।
आगामी निर्वाचनमा गुल्मीले १६५ निर्वाचन क्षेत्रमध्ये ‘मतान्तर प्रतिशतका आधारमा’ सबैभन्दा ठूलो जीत हासिल गर्ने विश्वास ढकालले व्यक्त गरेका छन् । गुल्मीको प्रभाव छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, स्याङ्जा, बागलुङ र प्युठानसम्म विस्तार हुने उनको दाबी छ ।
ढकालले डडेल्धुराका जनतालाई आफूले गरेका प्रतिबद्धताहरूको प्रतिवेदन बुझाउन पुन: आउने पनि बताएका छन् । सुदूरपश्चिम र मधेशका मुद्दालाई राष्ट्रिय रूपमा उठाउने प्रतिबद्धता दोहोर्याएका छन् । उनले गुल्मी र नेपालको इतिहास रच्ने संकल्पसहित भोलि तम्घास, गुल्मीमा भेटघाट गर्ने कार्यक्रम समेत रहेको जानकारी दिए ।




प्रतिक्रिया