सगरमाथा आरोहीलाई सुरक्षित रहन आग्रह, हिउँपहिरोको जोखिम

सगरमाथा आरोहीलाई सुरक्षित रहन आग्रह, हिउँपहिरोको जोखिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा नजिक रहेको नुप्से हिमालबाट कुनै पनि समय हिउँपहिरो झर्न सक्ने भन्दै स्थानीय प्रत्यक्षदर्शीहरूले चिन्ता व्यक्त गरेका छन् । स्मरणीय छ, केही दिन भारतमा आएको ‘फानी’ को प्रभावका कारण विग्रेको मौसमले सगरमाथाको माथिल्लो शिविर क्याम्प टू र थ्रीमा एक सयभन्दा बढि आरोहीका लागि टाँगिएका त्रिपाल उडाएको थियो । ठिक्क पारिएको त्रिपाल उडाउँदा लाखौंको क्षति भएको छ । यसले गर्दा आरोहीहरुको हिमाल आरोहणको तालिका केहि फेरबदल हुनसक्ने देखिएको छ ।

हिमालयन उद्धार संघ नेपालका वेशक्याम्प इञ्चार्ज तथा हेलिकोप्टर रेस्क्यू स्पेसलिष्ट लाक्पानोर्बु शेर्पाले सगरमाथा आधार शिविरको पूर्वीदक्षिणमा रहेको उक्त नुप्से हिमालबाट कुनै पनि समय हिउँको ठूलो ढिस्को खस्दा भयानक हिउँपहिरो जान सक्ने सम्भावना बढेको बताउनुभयो । सोमबार रेस्क्यू गर्न सगरमाथाको माथिल्लो आधार शिविर क्याम्प २ हेलिकोप्टरबाट जाँदा शेर्पाले नुप्से हिमालको पश्चिमी साइडको ठूलठूला हिउँको ढिस्को चर्किएको देखेपछि सबैलाई सतर्क रहन सचेत गराउनुभएको हो ।

सोही स्थानबाट सोमबार आधारशिविरतर्फ हिउँपहिरो झरेको थियो । ‘अझै पनि नुप्से हिमालको साइडबाट हिउँको ठूलो ढिस्को खस्ने ९० प्रतिशत सम्भावना छ । त्यसैले मैले सबै साथीहरु चनाखो हुनुहोला भनेको छु’ इञ्चार्ज शेर्पाले थप्नुभयो–‘म हिजो हिउँपहिरो झरेको केहि समयपछि रेस्क्यूको लागि हेलिकोप्टरबाट माथिल्लो शिविर क्याम्प २ गएको थिएँ । नुप्से हिमाल नजिकै पुग्दा ठूलठूला हिउँका ढिस्काहरु चर्किएको देखो । चर्किएका हिउँका ती ढिस्काहरू कुनै बेला झर्न सक्छन् ।’

केही दिनअघि प्रतिकुल भएको मौसम सुधार भएपछि सोमबार एक्कासी हिउँपहिरो गएको सगरमाथाको आधारशिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । ‘सोमबार विहानै मज्जाले घाम लागेकाले हामी घाम तापिरहेका थियौं, एक्कासी ठूलो आवाज आयो, सगरमाथातिर हेर्दा नुप्सेफेसबाट हिउँपहिरो झरेको देख्यौं’–उहाँले थप्नुभयो–‘तर कुनै मानवीय क्षति भएन, त्यसमा खुशी छौं हामी ।’ यो खबर आजको समाचारपत्रमा छ ।