सगरमाथा स्टोरबाट अखाद्य सामान जफत, तिराइयाे १ लाख जरिमाना

सगरमाथा स्टोरबाट अखाद्य सामान जफत, तिराइयाे १ लाख जरिमाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाेखरा – जिल्ला प्रशासन कार्यालय कास्कीले चाडपर्वलक्षित बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–५ मा अवस्थित सगरमाथा एग्रो प्याकेजिङ स्टोरलाई रु एक लाख जरिमाना गराएको छ ।

उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै सामान बिक्री गरेको पाइएपछि बुधबार कारबाही गरिइएको हो । साथै सो उद्योगबाट म्याद गुज्रिएका र लेवल नभएका रु ५५ हजार आठ सय ९२ मूल्य बराबरका सामान जफत गरी नष्ट गरेको बजार अनुगमन समितिका संयोजक एवं कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए।

यसरी म्याद गुज्रिएर जफत गरिएका सामग्रीमा अलैँची १६ केजी, चक्रचिप्स १९ केजी, पिप्ला आठ केजी, मेथीपत्ता चार बट्टा, पास्ता एक केजी, ओखर १६ केजी र अन्य तिललगायत मसला पाँच केजी रहेको छ । यसैगरी स्टोरमा मूल्यसूची नराखी जथाभावी सामान बिक्री वितरण गरेको पाइएपछि सम्पूर्ण कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन समितिले निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । उनले भने, “उपभोक्ताले गुनासो गर्नुभएपछि जिल्ला अनुगमन समितिबाट अनुगमन गरेका हौँ । सो क्रममा उपभोक्ता संरक्षण ऐनका विपरीतका कुसर गर्नुभएकाले पसल सञ्चालकलाई जरिवाना र अखाद्य सामग्री जफत गरेका छौँ ।”

यसैगरी अन्यत्रबाट खुला ल्याई उक्त उद्योगमा प्याकेजिङ गरिएको सोयाविन मस्यौरा प्रयोगशाला परीक्षणका लागि खाद्य नियन्त्रण तथा गुणस्तर कार्यालयमा पठाइएको क्षेत्रीले जानकारी दिए । सो स्टोरका सञ्चालक भारतको मोतिहारी जिल्ला ढाका गाउँ पञ्चायत–२ स्थायी घर भएका अशोक जैसवाललाई अब आइन्दा उपभोक्तामाथि खेलवाड नगर्न सचेत गराइएको छ ।

यसैगरी चाडपर्व नजिकिएसँगै मूल्यवृद्धि, सामानको कृत्रिम अभाव, कालोबजारी र उपभोक्ता हकहितविरुद्धका कार्य हुनसक्ने भन्दै पोखरा महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । महानगरले विभिन्न मासु पसल, दूध डेरीहरूमा अनुगमन बढाएको छ ।