काठमाण्डु- सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन समितिको आज बसेको बैठक सकिएको छ । आज बसेको सहकारी ठगी छानबिन समितिको बैठकले तथ्य र सूचना सङ्कलनका लागि कार्यसूची तय गरेको हो ।
पहिलो चरणमा सङ्घीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, प्रादेशिक निकाय, स्थानीय तह लगायत निकायबाट तथ्य सङ्कलनका लागि कार्यसूची तय भएको सभापति सूर्य थापाले जानकारी दिए । सुझावससहित आन्तरिक कार्यविधि सर्वसम्मतले पारित भएको उनको भनाइ छ ।
सङ्घीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी सहकारी व्यवस्थापन समितिसँग पहिलो छलफल गर्ने निर्णय गरिएको थापाले जनाकारी दिए ।
सहकारीको समस्याको बारेमा बचत अपचलन र दुरुपयोगको बारेमा जानकारी लिने निर्णय गरिएको उनले बताए । त्यस्तै थापाका अनुसार सहकारीको रकम हिनामिनाबारे अन्य तथ्य सूचना प्राप्त गर्ने निर्णय पनि गरिएको छ ।
‘समितिले औपचारिक रूपमा काम अगाडि बढाउन सबै तयारी गरेको छ । कार्यविधि जुन बनाएको छौँ, त्यसले काम गर्न धेरै आधार दिएको छ । पहिलो छलफल सङ्घीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी सहकारी व्यवस्थापन समितिले सहित निकायहरूसँग छलफल र आजको सहकारीको समस्याको बारेमा बचत अपचलन र दुरुपयोगको बारेमा जानकारी लिने । त्यसआधारमा अरू तथ्य सूचना प्राप्त गर्नेछौँ । प्रादेशिक सहकारी निकाय र सम्बन्धित स्थानीय तहबाट पनि तथ्यहरू सङ्कलन गर्ने कार्यसूची तय गरेर आजको बैठक सम्पन्न भएको छ’, थापाले भने ।
गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । समितिलाई पहिलो बैठक बसेको मितिले तीन महिनाभित्र कार्यसम्पन्न गरि प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।




प्रतिक्रिया