काठमाण्डु-सहकारी संस्थाका बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ । बेलुका ५ बजे बेलुका सिंहदरबारमा समितिले प्रधानमन्त्री ओलीसँग सुझाव लिन र छलफल गर्न बोलाएको हो ।
समितिले शुक्रबार गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी र नेपाल प्रहरी प्रमुख वसन्त कुँवरसँग छलफल गरेको थियो ।
छलफलमा सहकारीको रकम ठगेर विदेशमा फरार २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा उपलब्ध गराउन निर्देशन दिइएको थियो । समितिले फरार व्यक्तिहरूको खोजबिन गर्न गत साउन १३ गते गरिएको निर्देशनको कार्यान्वयनबारे छलफल गरेको सभापति सूर्य थापाले जानकारी दिए ।
संसदीय छानबिन विशेष समिति प्रतिवेदनलाई अन्तिमरूप दिनेगरी छलफल अगाडि पनि बढाएको छ । यसअघि समितिले सहकारी दुरुपयोगमा आरोपित, पीडित, सरोकारवाला निकाय लगायतसँग विभिन्न चरणमा छलफल गरेको थियो । समितिले तोकिएको तीन महिनाभित्र प्रतिवेदन तयार गर्न नसकेपछि प्रतिनिधिसभाले १५ दिनको म्याद थप गरेको छ ।




प्रतिक्रिया