सहारा चितवन सहकारी ठगीमा लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता

सहारा चितवन सहकारी ठगीमा लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता


काठमाण्डु – सहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३२ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उनीहरूविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको सहकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।

प्रहरीले गरेको अनुसन्धानबाट सहकारीको रकम गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ अपचलन भएको देखिएको छ । गोरखा मिडियामा सहारा बचतबाट १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ अपचलन भएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले मुद्दा दर्ता भएको जानकारी दिए ।

मुद्दामा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने, उनका व्यावसायिक साझेदार एवं नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी, प्रहरीकै पूर्वअसई रामबहादुर खनाल र कुमार रम्तेलसहितलाई प्रतिवादी बनाइएको छ । अभियोजन पत्रमा लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख रुपैयाँ गएको देखिएकोले उनीसहित गोरखा मिडियाका चार जना सञ्चालकका नाममा कायम गरिएको बताइएको छ।

बचतकर्ताहरूले ३८ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका थिए। सहकारीबाट जीबी राईसहितका प्रतिवादीका नाममा रहेका विभिन्न ६ वटा कम्पनीमा गैरकानुनी तरिकाले ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ गएको निष्कर्ष प्रहरीको छ ।

रविले यसअघि बुटवलस्थित सुप्रिम सहकारी ठगीमा रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएका छन् भने सूर्यदर्शन सहकारी ठगीमा कास्की अदालतमा ६५ लाख र स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौँ अदालतमा ६० लाख धरौटी बुझाएका छन्।