सहर पस्न थाले भोकाएका जङ्गली हात्ती

सहर पस्न थाले भोकाएका जङ्गली हात्ती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्थिन् । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फूल टिप्ने आम चलनै छ तराईतिर । गत असार १८ गते बिहान ५ बजेको घटना हो, फुल टिप्दाटिप्दै ऐया पनि भन्न नपाई उनलाई जङ्गली हात्तीले लपेटेर किच्यो । जङ्गली हात्तीको आक्रमणमा परेर पन्नादेवीको घटनास्थलमै ज्यान गयो ।

असार १९ गते अर्जुनधारा–३ की १३ वर्षीया इक्सा लिम्बु छिमेकी भाउजुको घरमा साथी बस्न गएकी थिइन् । राति ३ बजेतिर आहार खोज्दै आएको जङ्गली हात्तीले घर भत्काउन थाल्यो । इक्साकी भाउजु जसोतसो भागेर अर्को घरमा पुगिन् तर उनी भने हात्तीको सुँढमा बेरिइन् । हात्तीको दाह्राले घोचिँदा उनको पेटमा ठूलो प्वाल नै पर्यो । चन्दा उठाएर घाइते इक्साको बल्लतल्ल उपचार भएको छ । गत वर्ष बुद्धशान्ति–५ की सम्झना श्रेष्ठलाई स्कुटर चढेर सडकमा हिँडिरहेका बेला हात्तीले आक्रमण गरेको थियो । आक्रामक हात्तीले श्रेष्ठको ज्यान नै लियो ।

जङ्गलमा विचरण गर्ने हात्तीहरु पहिले पहिले गाउँवस्तीमा कहिलेकाहिँ मात्र आउँथे । सहरतिर पसेको त बिरलै सुनिन्थ्यो । अहिले दिनभरि जङ्गलतिर बस्ने हात्ती साँझ पर्नासाथ आहारको खोजीमा सहरका मानव वस्तीतिर चहार्ने गरेका छन् । झापामा दिउँसो जङ्गली हात्ती देखिनु सामान्य जत्तिकै भएको छ । झापाको उत्तरी भाग बाहुनडाँगीबाट प्रवेश गरेका सयौं हात्तीको हुल केही अवधि डुलेपछि भारततिरै फर्किने गरेका छन् तर रैथाने हात्ती भने जिल्लाका हरेक पालिकाका बस्तीसम्मै देखिने गर्छन् ।