ताइवान बन्यो समलिंगी विवाहलाई मान्यता दिने पहिलो एसियाली मुलुक


काठमाडौं – शुक्रबार ताइवानको संसदले समलिंगी विवाहसम्बन्धी कानुन पास गरेसँगै ताइवान समलिंगी विवाहलाई मान्यता दिने पहिलो एसियाली मुलुक बनेको छ ।

अब त्यहाँ समलिंगीले पनि महिला पुरूषबीचको विवाहमा जस्तै कर, बीमा र बच्चा भए अन्य अभिभावकसरह सुविधा पाउने छन् ।

समलिंगी विवाहसम्बन्धी कानुन पास भएपछि अधिकारकर्मीहरू ताइवानको संसदबाहिर खुसी प्रकट गर्दै प्रदर्शन गरिरहेका छन् ।

यो कानुन सरकारले प्रस्ताव गरेको थियो । सत्तारूढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका बहुमत सदस्यले समलिंगी विवाहको पक्षमा भोट हालेका थिए । समलिंगी विवाहको पक्षमा ताइवानी संसदका ६६ सदस्यले मतदान गरेका थिए भने २७ जना विपक्षमा उभिएका थिए ।

राष्ट्रपति साइले यो दिन ताइवानीहरूले गर्व गर्न लायक दिन भएको बताएकी छन् । ‘हाम्रो देश हार्दिकता र समावेशीताको मूल्यलाई बुझ्ने देश भएको हामी संसारलाई देखाउन चाहन्छौं,’ उनले भनेकी छन्, ‘समलिङ्गी विवाहलाई वैधानिकता दिएर हामीले सबैको प्रेमलाई समान व्यवहार गरेका छौं ।’

उनले २०१६को राष्ट्रपतीय चुनावमा समलिंगी विवाहलाई मान्यता दिने कानुन ल्याउने वाचा गरेकी थिइन् । समलिंगी विवाहलाई कानुनी मान्यता दिएको यो कदमले राष्ट्रपति साइ इङ वेनलाई आगामी वर्षको निर्वाचन जित्न कठिन हुने धेरैले अनुमान गरेका छन् ।

क्रिश्चियन धर्मसँगसम्बन्धित केही संस्थाहरूले भने यो कदममा आफ्नो विमति राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement