काठमाडौं – सैन्य भर्नामा अनियमितता गरेको आरोपमा तीन सैनिक अधिकारी परेका छन्। पक्राउ पर्नेमा २३ जना सेटिङकर्ता र नक्कली परीक्षार्थी पनि छन्। हवल्दार र दुई जवान सैनिक हिरासतमा छन्। जंगीअड्डाले अनुसन्धान प्रक्रियामा रहेको भन्दै उनीहरूको नाम खुलाएको छैन।
सैनिक प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। भर्ना छनोट भइरहेको सुर्खेतस्थित उत्तरपश्चिम पृतना हेडक्वार्टरमा परीक्षार्थीका लागि नक्कली परिचयपत्र बनाई किर्ते गरेको आरोप उनीहरूविरुद्ध लागेको छ। सोही केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने वास्तविक परीक्षार्थी ६ जना पनि पक्राउ परेका छन्। गैरसैनिकविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सैन्य भर्ना प्रक्रियामा अनियमिता गर्नेमाथि अनुसन्धान भइरहेको बताए। ‘अनियमिततामा संलग्न सैनिक अधिकारीसमेत पक्राउ परेका छन्’, प्रवक्ता पाण्डेले अन्नपूर्णसँग भने।
उनीहरूले स्वविवेकले किर्ते गरे वा माथिको आदेश पालना गरेका हुन् भन्नेबारे सैनिक मुख्यालयले अनुसन्धान गरिरहेको छ। उनीहरूको अन्य कनेक्सनबारे सैनिक प्रहरी अनुसन्धानमा छ। भर्ना अनियमिततामा अधिकृत तहका सैनिकसमेत तानिने सम्भावना छ।
भर्ना छनोटमा अनियमितता रोक्न जंगीअड्डाले भर्ना केन्द्रलगायत स्थानमा सैनिक जासुस छाडेको छ। सादा पोसाकमा खटिएका उनीहरूले सेटिङ गर्ने सैनिक अधिकारी र बिचौलियाको पहिचान गरेका थिए। फरार रहेका केहीको खोजी भइरहेको सेनाले जनाएको छ।
प्रधानसेनापति पूर्णचन्द्र थापा योग्य व्यक्तिले मात्र सेनामा प्रवेश पाऊन् भन्ने पक्षमा छन्। बिचौलियाले सैन्य भर्नामा विभिन्न चरणमा उत्तीर्ण परीक्षार्थीको घर–घरमा गएर अर्को चरणमा पास गराइदिने भन्दै पैसा लिने गरेका थिए। उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ। सेनाले गत साउन १९ गते ५ हजार ८ सय सैन्य पदका लागि आवेदन मागेको थियो। सेनाले ४० भर्ना केन्द्रबाट भर्ना लिइरहेको छ।
गत वर्ष सैनिक मुख्यालयले छनोट प्रक्रियामा अनियमितता गर्ने तीन अधिृकतसहित १ सय १२ सैनिक अधिकारीलाई बर्खास्त गरेको थियो। तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीका पालामा आर्थिक सेटिङमा गर्भवतीलाई पनि भर्ना गराउन लागेको पाइएको थियो। अन्तर्वार्ताका क्रममा गर्भवती भएको खुलेपछि छनोट समितिले उनको परीक्षा प्रक्रिया रद्द गरेको थियो। याे समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया