अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए


एजेन्सी – अफगानिस्तानमा बुधबार नेटोआवद्व दुई अमेरिकी सैनिकको आतङ्ककारी आक्रमणमा मृत्यु भएको छ ।

अफगानिस्तानमा नेटोआवद्ध अमेरिकी सैनिक यो पछिल्लो हताहत अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने तयारी भइरहेको अवस्थामा भएको छ ।

अफगान सैनिकलाई सहयोगार्थ बसेका ती दुई सैनिक मारिएका विषयमा विस्तृत विवरण भने दिइएको छैन । तर सेप्टेम्बर १ भन्दा आगाडी हुने भनिएको शान्ति वार्ताको विषयमा छलफल गर्न अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले आकस्मिक अफगानिस्तानको राजधानी काबुलको भ्रमण गरेको २४ घण्टा भन्दा कम समयमा नै यो आक्रमण भएको बताइएको छ ।

हालसम्म यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन। तर यसअघि नेटोआवद्ध अमेरिकी सेनामाथि हुदै आएको आक्रमणको तालिबान लडाकू समूहले जिम्मा लिदै आएका थिए ।

अफगानिस्तानमा यस वर्षको शुरुदेखि हालसम्म नेटोआवद्ध अमेरिकी सेनामाथि भएको आक्रमणहरुको क्रममा नौ सैनिकको मृत्यु भएको छ। सन् २०१८ को यसै अवधिमा १२ नेटोआवद्ध अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले आकस्मिक रुपमा गर्नु भएको अफगानिस्तानको भ्रमणको क्रममा पोम्पेओले अफगान राष्ट्रपति असरफ घानीलाई अफगानिस्तानको शान्तीलाई वासिङटनले उच्च प्राथमिकताका रुपमा लिएको बताएको छ ।

अमेरिकाको इतिहासमा नै लामो युद्धको रुपमा रहेको यस ‘अफगान युद्ध’ अन्त्यको लागि गत सेप्टेम्बरमा पनि अमेरिकाले तालिबान लडाकू समूहलाई वार्ताको टेबिलमा ल्याउने कोशिसले गरेको थियो ।

अफगानिस्तानमा युद्धरत तालिबान लडाकू समूह र अमेरिकाबीच शान्ति वार्ता दोहामा आगामी जुन २९ बाट शुरु हुने समय तालिका तय गरिएको छ ।

आतङ्कवादको अन्त्य, विदेश सैनिकको उपस्थिति, अफगानिस्तानमा आन्तरिक वार्ता र स्थाई युद्धविराम चार ओटा मुद्दामा यो वार्ता केन्द्रित रहने बताइएको छ ।

अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सैनिक तैनाथ रहेका छन् । ती सैनिकहरुले अफगान सहकर्मीहरुलाई तालिम र सरसल्लाह दिने गरेका बताइन्छ। अफगानिस्तानमा सन् २०१४ को अन्त्यसम्म करिब एक लाख नेटोआवद्ध अमेरिकी सेना रहेका थिए ।

ती सैनिकहरु सन् २०१४ को अन्त्यमा अफगान युद्ध सकिएको घोषणा गर्दै आफ्नो देश फर्किएपछि त्यहा करिब १४ हजार नेटोआवद्ध अमेरिकी सैनिक मात्र बाँकी रहेका छन ।

सन् २००१ मा अफगानिस्तानमा तालिबानहरु सत्ताबाट अपदस्थ भएपछि शुरु भएको अफगान युद्धमा अमेरिकी सैनिकको सहभागीता भएयता करिब २ हजार ३०० अमेरिकी सैनिकको मृत्यु हुनुको साथै २० हजार ४०० घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement