काठमाण्डु – विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण अन्तिम चरणमा पुगेको छ । विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले एकताका अन्य विषयमा टुंगो लागिसकेको छ भने नेतृत्वका विषयमा औपचारिक सहमति हुन बाँकी छ ।
स्रोतकाअनुसार रवीन्द्र मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक हुनेछन् । तर, दुवै जना कार्यकारीको भूमिकामा हुने विवेकशीलका एक नेताले जानकारी दिए ।
विवेकशील नेपाली दलकी संवाद समिति संयोजक समीक्षा बास्कोटाले नेतृत्वबारे थप निर्णय हुन बाँकी रहेको बताइन् । अहिले एकता हुने सैद्धान्तिक सहमति पारित भइसकेको छ ।
‘वार्ता समितिबाट दुई वटा अध्यक्ष राखेर जाने प्रस्ताव आएको थियो । त्यो प्रस्ताव हामीलाई स्वीकार्य भएन । त्यसले दिने म्यासेज आम पब्लिक र आम पार्टी पंक्तिलाई दिने सन्देश राम्रो जाने भएन । त्यसकारण हामीले वार्ता गरेर यो कुरा टुंगोमा लगाउँ’, साझा पार्टीका एक नेताले काठमाण्डुपाटीसँग भने, ‘एउटै पदमा दुई जना हुँदैन । पहिलो वरियतामा रवीन्द्रजी र दोस्रो वरियतामा मिलनजी हुने भन्ने वार्ता समितिले भनेको छ । हामीले भने रवीन्द्रजी अध्यक्ष र मिलनजी संयोजक रहनुपर्छ भनेका छौं । यो कुरामा उहाँहरु पनि सकारात्मक हुनुहुन्छ ।’
दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई यसअघि नै बुझाइ सकिएको छ ।
विगतमा भएका आफ्ना कमजोरीलाई स्वीकार्दै तथा जनभावनाको कदर गर्दै असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता शुरू गरेका थिए ।




प्रतिक्रिया