काठमाडौं – साझा पार्टीले कोरोना संक्रमणले निम्त्याएका र निम्ताउन सक्ने विभिन्न संकटसँग जुध्न उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र र उच्चस्तरीय विज्ञ समितिको गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।
प्रधानमन्त्रीको नाममा लेखिएको सुझावपत्र शनिबार पार्टीका संयोजक रवीन्द्र मिश्र तथा प्रवक्ता डा सूर्यराज आचार्यले उपप्रधानमत्री ईश्वर पोखरेललाई हस्तान्तरण गरेका छन् ।
सुझावपत्रको पूर्ण पाठ:
सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रथमतस् यहाँको सुस्वास्थ्यको लागि कामना गर्दछु । साथै, स्वास्थ्य प्रतिकूलताका अलावा जुन आत्मविश्वास र दृढताका साथ यो कठिन घढीमा देशलाई नेतृत्व प्रदान गर्ने प्रयास गरिरहनुभएको छ, त्यसका लागि शुभकामना अर्पण गर्दछु ।
यो देशले हालैका वर्षहरूमा दुईवटा कठिन समयहरूको दृढताका साथ सामना गर्यो । पहिलो, २०७२ सालको भूकम्प थियो भने, दोस्रो त्यसको लगत्तै नेपालले व्योहेरेको नाकावन्दी थियो । नाकावन्दीको सामाना हामीले तपाईंकै नेतृत्वमा सफलतापूर्वक गरेका थियौँ ।
ती दुबै संकटका चुनौती आँकलन गर्न सकिने प्रकृतीका थिए । तर कोरोना भाइरस (कोभिड–१९) को विज्ञान अझै स्पष्ट भएको छैन र महामारीको सम्भाव्य परिणाम आँकलन गर्न नसकिने प्रकृतिको छ । कोरोना महाव्याधीबाट विश्व नै आक्रन्त बनिरहेको छ । स्रोत–साधनमा कमजोर रहेको नेपालका लागि यसले अकल्पनीयरूपमा विकराल स्थिति सृजना गर्न सक्छ ।
यो अवस्थामा तात्कालिक राहतका लागि सरकारले के, कस्ता कदम चाल्न जरूरी छ भन्नेबारे सरकार स्वयं जानकार छ भने आम सञ्चारका माध्यम र सामाजिक सञ्जालमा सर्वसाधारणदेखि विभिन्न क्षेत्रका विज्ञहरूले पर्याप्त राय दिइसकेका छन् । त्यसैले म पुनः तिनै विषयमा प्रवेश गर्न चाहन्न। म साझा पार्टीको तर्फबाट सिर्फ दुईवटा विषयबारे यहाँको ध्यानाकर्षण गर्न चाहन्छु ।
१. उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्रको निर्माणस् व्यक्तिगत सुरक्षा सामाग्री (पीपीइ) को अभवमा एम्बुलेन्सले विरामी बोक्न नमानेको, डाक्टरहरूले राजीनामा दिन थालेको, ठूला अस्पतालहरूसँग आवश्यक उपकरण र स्वास्थ्यकर्मी पर्याप्त नभएको, संभावित संक्रमितहरूलाई परिक्षणका लागि पहिचान गर्न नसकिएको, आम जनजीवन अस्तव्यस्त हुन थालेको, श्रमिकहरू भोकै पर्न अवस्था आउन लागेको, आपूर्ती अवरूद्ध भएकोदेखि अर्थतन्त्रमा तत्काल र दिर्घकालका लागि संकट उत्पन्न हुने लगायतका अवस्था आएको देखिएको छ । माननीय उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको ‘कोरोना रोग संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ले सक्दो प्रयास गरिरहेको छ ।
तर संकटको बहूआयामिक स्वरूप र वर्तमान अवस्थाको गम्भिरतालाई हेर्दा सरकारको नियमित र घनिभूत क्रियाशिलताका साथै राष्ट्रिय सहमति प्रतिबिम्बित हुने राजनीतिक तहको एकबद्धतापूर्ण निर्णय जरूरी पर्दछ । तसर्थ, संभव छ भने तपाईंकै नेतृत्वमा, त्यो संभव नभए, उपप्रधानमन्त्री ईश्वर पोखरलेज्यूको नेतृत्वमा प्रमुख दलका नेताहरू समेत रहने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्नु अत्यावश्यक देखिएको छ । यो संयन्त्रले राजनीतिक तहमा आएका विभिन्न विचार, राय र सुझावलाई समीक्षा र संश्लेषण गर्ने माध्यमको रुपमा पनि काम गर्ने छ । संकटको यो घडिमा आम जनमानसको राज्य र राजनीतिप्रतिको विश्वसनीयता कायम राख्न समेत यस्तो संयन्त्रले सघाउ पुर्याउने छ ।
२. उच्चस्तरिय विज्ञ समितिको निर्माणः बर्तमान संकटको विविध क्षेत्रमा पर्ने तात्कालिक र दिर्घकालीक असरहरूसँग जुध्नका लागि सरकारलाई निरन्तर रूपमा आवस्यक विश्लेषण, सुझाव र समीक्षाका लागि एउटा उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न उपयुक्त हुनेछ । उक्त समितिमा प्रशासन र स्वास्थसेवाका सम्वन्धित अधिकारीहरू लगायत देशभित्र र बाहिर रहेका नेपाली, र आवश्यक परेको खण्डमा, विदेशी विज्ञहरूलाई पनि सामेल गर्न सकिन्छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
हालकै संरचना भित्रको घनिभूत प्रयासको निरन्तरताले मात्रै यो संकटको सामना गर्न कठीन छ । यो अभूतपूर्व मानवीय संकटसँग जुध्न सरकारले आफ्नो कार्यशैलीमा अभूतपूर्व संरचनागत फेरबदल गर्नु पर्छ भन्ने हाम्रो धारणा हो । साझा पार्टी सरकारको कुनै पनि त्यस्तो प्रयासमा साहायकशिद्ध हुन सक्छ भने खुशीसाथ सहयोगको हात बढाउन तत्पर छ । साथसाथै, आम नागरिकले यस्तो अवस्थामा सरकारबाट अत्यन्तै जिम्मेवार, जवाफदेहीपूर्ण र परिणामूखि कार्यशैलीको अपेक्षा गर्नु स्वभाविक हुनेछ ।
स–सम्मान
रवीन्द्र मिश्र
संयोजक, साझा पार्टी
मितिस् १५ चैत २०७६




प्रतिक्रिया