काठमाडौं – प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरासँग साझा पार्टीले राजीनामा दिन माग गरेको छ । सभामुख महरामाथि लागेको बलात्कारको आरोपप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै सो पार्टीले हालसम्म प्राप्त सूचना र आरोपको गम्भीरतालाई हेर्दा सभामूख महरालाई तुरून्त राजीनामा दिन माग गरेको हो ।
पार्टी प्रवक्ता सूर्यराज आचार्यद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उनको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउने छ । साथै, यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधि सभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्नेछ ।’ पार्टीले छानविन पश्चात दोषीलाई प्रचलित कानून बमोजिम सजायको माग पनि गरेको छ ।
‘देशभरी बढ्दै गरेको महिला हिंसा र बलात्कारका घटनाहरूमा सरकार अझ कडाईका साथ पेश हुनु पर्नेमा सभामूखजस्तो गरिमामय पदमा आसीन व्यक्तिमाथि नै यस्तो आरोप लाग्नुले आम नागरिकमा कस्तो सन्देश जाला ?,’ विज्ञप्तिमा भनिएको छ ।
अहिले राज्यव्यवस्थाप्रति नागरिकको अविश्वास, आक्रोस र असंतुष्टि चरम सिमामा पुगेको बताउँदै पार्टीले दुई तिहाइ बहुमतसहितको स्थिर सरकारले मुलुक र नागरिकका आधारभूत समस्याहरु समाधान गर्नेछ भन्ने नागरिकको अपेक्षा घोर निरासा र अविश्वासमा रुपान्तरण भएको जिकिर गरेको छ ।




प्रतिक्रिया