सालको पात बेचेर खर्च जुटाउँदै महिला

सालको पात बेचेर खर्च जुटाउँदै महिला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी – इटहरी उपमहानगरपालिका– ६ की चन्द्रकुमारी घिमिरे सालको पात टिप्न उदयपुरको गाईघाट पुग्छिन् । इटहरीबाट गाईघाट आउन जानै १ दिन लाग्छ । गाईघाट पुगेर दिनभर सालका पात टिपेर उनी घर फर्किन्छिन् ।

उनले भनिन्, ‘साँझ घर फर्केर पातका मुठा बनाउनुपर्छ, त्यसपछि पातको दुनाटपरी गाँस्न प्रयोग हुने बाँसको सिन्का तयार गर्नुपर्छ । तयार गरिसकेपछि बेच्नका लागि टेंग्रा खोला नजिकै पुग्ने गरेको उनले बताइन् । उनले सालको पात बेच्न थालेको ३ वर्ष भयो । उनले भनिन्, ‘नजिकै सालको पात पाइँदैन, गाईघाटसम्म पुग्नुपर्छ तर यहाँ ल्याइसकेपछि बिक्री नहोला भन्ने चिन्ता छैन ।’

सालको पात पनि सिजन अनुसार बिक्री हुन्छ । ‘जेठ, असार, साउन महिनामा खासै बिक्री हुँदैन । भदौ, असोज लागेसँगै चाडपर्व सुरु हुन्छ र बिक्री बढ्छ,’ उनले भनिन्, ‘कहिलेकाहीँ पात पुर्‍याउनै गाह्रो हुन्छ ।’

उनका अनुसार सालको पात बिक्री गरेर मासिक २०–२५ हजारसम्म आम्दानी हुन्छ । घिमिरेले प्रतिमुठा ठूलो १०० र सानो ५०–७० रुपैयाँमा बिक्री गर्दै आएकी छन् । दैनिक २०–२५ मुठासम्म सालको पात तिहारको बेला बिक्री हुने गरेको उनको भनाइ छ । तिहार खर्च यसैबाट जुट्ने उनले सुनाइन् ।

इटहरी उपमहानगरपालिका– ३ का डम्मर कुमारी विक पनि चन्द्रकुमारीझै सालको पात बिक्री गरी हुने आम्दानीबाट सन्तुष्ट छिन् । उनी पनि सालको पात टिप्न हप्ताको १ दिन गाईघाट पुग्छिन् । ‘जहाँ पायो त्यहाँ राम्रो पात पाइँदैन, रुखमा चढ्न सकिँदैन, गाईघाट पुगेर ल्याउनुपर्छ,’ उनले भनिन् ।

उनी पात बेच्न इटहरीका प्रत्येक हटियामा जाने गरेको बताउँछिन् । अरु समयको तुलनामा दशैं, तिहार, एकादशी, छठ पूजामा सालको पातको माग धेरै रहेको उनले बताइन् ।

‘चाडपर्व धेरैजसो यही पात बेचेर खर्च टार्ने गरेको छु । दैनिक १ हजार ५०० रुपैयाँसम्मको बिक्री गर्ने गरेको छु,’ विकले भनिन्, ‘अहिले पातको बिक्री बढेसँगै कोला बेच्ने व्यापारीदेखि लिएर सागसब्जी बेच्ने व्यापारीले समेत पात बेच्न सुरु गरेका छन् ।’

विना लगानीमै फुर्सदमा पात संकलन गरेर बिक्री गर्दा राम्रो आम्दानी हुने भएसँगै हाल इटहरी क्षेत्रमा १५ भन्दा बढी महिलाले सालको पात बिक्री गर्दै आएका छन् ।

सालको पात पूजापात भोजभतेर, मन्दिर, चाडवाडमा र दैनिक घरायसी प्रयोजनका लागि र दुनाटपरी बनाउन शहरी क्षेत्रमा पनि माग बढेकाले पातको व्यापार बढेको व्यापारी बताउँछन् ।