काठमाण्डु- मानिसहरूले नुनको प्रयोग मानव सभ्यताको सुरुदेखि नै गर्दै आएका छन् । चाहे त्यो खाना प्रशोधन गर्न होस् वा जोगाउन होस् वा स्वादमा सुधार गर्न होस् ।
प्राचीन रोममा व्यापारका लागि नुन असाध्यै महत्त्वपूर्ण थियो । उदाहरणका लागि सेनाहरूलाई तलबमा नुन नै दिइन्थ्यो ।
नुनको महत्त्व आंशिक रूपमा खानालाई जोगाइराख्नका लागि पनि थियो । खानामा किटाणु नलागोस् भनेर पनि नुनमा राखिन्थ्यो ।
खानालाई अमिल्याउन ब्याक्टेरियाहरूको विकास अनुगमन गर्न पनि नुनको प्रयोग गरिन्थ्यो ।
नुन (खासगरी अति प्रशोधित खानेकुराको स्वाद बढाउन वा खानेकुरा जोगाउन प्रयोग हुने सोडियम क्लोराइड)को अत्यधिक प्रयोगले मानिसहरूलाई रोगी बनाइरहेका प्रमाणहरू बढिरहेको देखिन्छ ।
अत्यधिक नुनले रक्तचाप बढाउँछ भने यसले हृदयाघात वा मस्तिष्कघात हुन सघाउँछ । नुनका कारण पेट र मलाशयको क्यान्सरको खतरा पनि बढ्न सक्छ । यसले हड्डी र मोटोपना अनि श्रवण शक्तिमा पनि असर गर्न सक्छ ।
कुनै बेला सुन जस्तै महत्त्वपूर्ण मानिने नुनलाई अहिले कसरी धेरै चिकित्सासम्बन्धी संस्थाहरूले रोगको प्रमुख सूचकका रूपमा लिइरहेका छन्?
रक्तचाप र मुटुको रोगमा नुनको भूमिका रहन्छ । यसले रक्त धमनीभित्र पानीको मात्रा कति नियमित गर्छ भन्नेमा भर पर्छ ।
सामान्य रूपमा बुझ्दा रगतमा जति बढी सोडियम भयो त्यति नै बढी पानी यसले रक्त धमनीमा तान्छ । यसले रक्तचाप बढाउँछ र त्यसपछि हृदयाघात र मस्तिष्कघातको खतरा पनि बढाउँछ ।
रक्तचापमा नुनको असरबारे केही मानिसहरू कम वा बढी संवेदनशील हुन सक्छन् । हालैको अनुसन्धानले पेटमा हुने माइक्रोबायोमका कारण पनि नुनले रक्तचाप बढाउन सक्छ ।
नुनले स्वस्थ माइक्रोब भनिने सूक्ष्म जीवाणुलाई र फाइबरबाट बन्ने मेटाबोलाइट (जीव तत्त्वमा परिवर्तन हुँदा बदलिने वस्तु) घटाइदिन्छ । यी मेटाबोलाइट्सले रक्त धमनीमा जलन घटाइदिन्छ र त्यसले रक्तचाप कम गर्न मद्दत गर्छ ।
केही अपवादबाहेक नुनको धेरै मात्राले हाम्रो खाना पचाउन मद्दत गर्ने माइक्रोबलाई विषालु बनाइदिन्छ । त्यही कारण मानिसहरूले नचाहिने ब्याक्टेरियाहरू नआओस् र खाना लामो समय नबिग्रियोस् भनेर नुनको प्रयोग गर्दै आएका हुन् । तर आधुनिक खानेकुरामा धेरै नै सोडियम हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार औसत मानिसलाई प्रति दिन २ हजार मिलिग्रामभन्दा कम नुन खानु स्वास्थकर हुन्छ ।
विश्वव्यापी औसत हेर्ने हो भने स्वास्थ्यकर तहभन्दा हाम्रो पेटमा बढी अर्थात् ४,३१० मिलिग्राम नुन खपत हुन्छ ।
मोटोपनामा नुनको भूमिका
हामीले खाने प्रत्येक खानामा दैनिक बढ्ने प्रत्येक ग्राम सोडियमले मोटोपना हुने खतरा १५ प्रतिशतले वृद्धि गर्ने एउटा अध्ययनले अनुमान गरेको छ ।
पोषणसम्बन्धी एक अन्तर्राष्ट्रिय अध्ययनले जो व्यक्तिले अति प्रशोधित खानेकुरा खान्छ उसले प्रशोधित खाना नखाने मानिसको दाँजोमा दुई सातामा करिब ५०० क्यालोरी बढी खपत गरेको र एक किलो वजन बढेको निष्कर्ष निकालेको छ ।
नुन बढी खाँदा क्यालोरी नभए पनि किन वजन बढ्छ भन्ने एउटा व्याख्या के हो भने सोडियमले खानेकुराको तलतल बढाउँछ ।
चिनी र अस्वस्थकर फ्याटसँग सोडियम मिसाएको खानेकुरा खाँदा पनि मोटोपना बढ्छ किनभने यी खानेकुरामा थप खानाको तलतल बढाउने क्षमता हुन्छ र त्यसले हाम्रो दिमागलाई त्यसैगरी निर्देशित गर्छ ।
थुप्रै देशहरूले नुनको खपत घटाउने अभियान लागु गरिरहे पनि अझै पनि विश्वका धेरै भागमा सोडियमको खपत बढ्दो छ ।
नुनको खपत कम गर्ने कुरामा अमेरिका अझै पनि पछाडि नै रहे पनि थुप्रै युरोपेली देशहरूले भने नुनको खपत कम गर्दा हुने फाइदा अभियानमार्फत् मुटु रोगका कारण हुने मृत्यु लगायतमा कम देख्न थालिसकेका छन् ।
युरोपेली देशहरूमा नुनको खपत कम होस् भनेर नुनको मात्राको लेबल राख्ने, नुन सीमित गर्न कर लगाउनेलगायत अभियान सुरु गरिएको छ ।
फास्ट फूड सामग्रीहरूमा पनि देशपिच्छे नुनको मात्रा फरक भएको खुलासा भएको छ ।
सन् २०२१ मा अमेरिकाको कृषि मन्त्रालयले नयाँ उद्योग निर्देशिका जारी गरेको छ जसमा व्यावसायिक रूपमा तयार र प्रशोधन गर्ने खानेकुरामा बिस्तारै नुनको मात्रा घटाउँदै जान आह्वान गरिएको छ ।
प्रतिक्रिया