एकीकृत समाजवादीमा पदाधिकारी छान्न निर्वाचनपछि आरोप-प्रत्यारोप

एकीकृत समाजवादीमा पदाधिकारी छान्न निर्वाचनपछि आरोप-प्रत्यारोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पदाधिकारी छान्न निर्वाचन भएपछि हारेका नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् । हारेका धेरै नेताहरूले नेतृत्वको प्यारो बन्न नसक्दा हारेको बताएका छन् । यता संस्थापन पक्षका नेताहरूले भने सर्वसम्मतीमा पदाधिकारी चुन्न बाधक बनेकाहरू पराजित भएको बताएका छन् ।

एक नेताले त निर्वाचनमा पराजय व्यहोरेपछि पार्टीको सचिवालय सचिवबाट राजीनामा दिएका छन् ।सचिवालयका प्रमुख सचिव रहेका जीवनराम श्रेष्ठले नैतिकताको आधार देखाउँदै उपमहासचिवमा पराजय व्यहोरेपछि सचिवालयको मुख्यसचिवबाट राजीनामा दिएका हुन् । उनले नेतृत्वका कारण आफूले पराजय व्यहोर्नुपरेको बताएका छन् । कोटामा छानिएका केन्द्रीय सदस्यले विवेक भन्दा पनि निर्देशन पालना गर्दा आफू पराजित भएको उनको भनाइ छ ।

केन्द्रीय सदस्य छानेर पदाधिकारीमा निर्वाचन गराउँदा नेतृत्वले बदला लिएको पराजित नेताहरुको भनाइ छ । “माधव नेपालको एस म्यान बन्न सकिएन । पार्टीमा नयाँ पुस्ताको बहस चलायौं । जुन माधव नेपाललाई सह्य भएन । त्यसको बदला लिने सुरमा थिए । अहिले चुनाव हारियो,” एक नेताले भने । प्राय नेतृत्वमा घनश्याम भुसाललाई ल्याउन लागेका नेतालाई निर्वाचन हराइएको नेताहरू बताउँछन् ।

‘केन्द्रीय सदस्य समेत चुनेर ल्याएर चुनाव गराइयो । महाधिवेशन हलबाट चुनाव गर्दा फरक हुन्थ्यो । पकेटबाट केन्द्रीय सदस्य ल्याएर गराइएको चुनावको नतिजा हुने यस्तै नै हो,’ एक नेताले भने ।

महाधिवेशनमा रामकुमारी झाँक्री महिला उपाध्यक्षमा जयन्ती राईसँग पराजित भइन् । एमालेमा रडाको मच्चिँदा माधव कुमार नेपाललाई हातमा डोह¥याएर पार्टी बनाएकी झाक्रीलाई नेपालकै सचिवालयले गलत चिट बाडेर हराएको आरोप नेताहरू लगाउँछन् । ०७८ भदौ २ गते निर्वाचन आयोगमा पुग्दा नेपालको हात समातेर डोर्‍याएपनि त्यसबेला पदाधिकारी छान्दा उपयुक्त जिम्मेवारी पाएकी थिइनन् ।

पार्टीमा निर्वाचन हुनुपर्ने बहस छेडिएको बेलामा अध्यक्षमा नेपाल र घनश्याम भुसालबीच प्रतिष्पर्धा हुने भएपछि दुई पदमा सर्वसम्मत बनाउन झाक्रीले भूमिका खेलेकी थिइन् । विद्रोहको औचित्य पुष्टि नहुँदै पार्टीमा चुनाव गर्न नहुने मतमा समर्थन जनाउँदै सर्वसम्मतको प्रयासमा लागेकी झाक्रीलाई अहिले हराइएको पनि नेता कार्यकर्ताले बताउन थालेका छन् ।

महाधिवेशनबाट नेपाल अध्यक्ष, महासचिवमा भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भए ।

एकीकृत समाजावादीमा जीवनराम श्रेष्ठ, डा. विजय पौडेल, प्रकाश ज्वालालगायतका नेता महाधिवेशन भन्दा आगाडिदेखि नै नेतृत्व नयाँ पुस्तामा जानुपर्छ भन्ने अभियान चलाएर घनश्याम भुसालको पक्षमा लागेका थिए । पार्टीका सम्मानित नेता खनाललाई रिझाएर भुसाललाई अध्यक्षमा सहयोग गर्ने सहमति भए पनि त्यो सहमतिमा झलनाथ खनाल उभिन नसकेपछि सर्वसहमतिमा अध्यक्ष र महासचिव चुनिए ।

अहिले पदाधिकारीमा पराजित नेताहरू प्राय भुसाललाई अध्यक्ष बनाउन भनेर लागेकाहरू छन् । अध्यक्ष नेपालले इगो साचेर आफूहरूलाई हराएको उनीहरूले निकटस्थहरूसँग बताउने गरेका छन् ।

मंगलबार साँझबाट पदाधिकारी छान्न गरिएको मतदानको नतिजा राति नै आयो । परिणाम आउँदा एमालेबाट एकीकृत समाजवादी बन्दाका संस्थापक नेताहरूसमेत पराजित भएका छन् ।

मंगलबार भएको मतदानबाट संस्थापक मध्यका विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठलगायत नेताहरू पराजित भए ।

पौडेल खुला उपाध्यक्ष , झाँक्री महिला उपाध्यक्ष, श्रेष्ठ उपमहासचिवमा पराजित भएका हुन् ।