काठमाण्डु – नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक भोलि बिहीबार आह्वान गरिएको छ ।
पार्टीको केन्द्रीय संरचना निर्माण र विविध विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारीसहितको बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकमा नेताहरूको योगदान, कार्यक्षमताका आधारमा स्थायी समिति, सचिवालय गठनलगायत विषयमा छलफल गरी केही नेताहरूको जिम्मेवारी हेरफेर गरिने उनले बताए ।
पार्टीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको छ । केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । केन्द्रीय पदाधिकारीमा निर्वाचित हुन नसकेका नेतालाई व्यवस्थापन गर्ने, केही नेताहरूलाई विभाग तथा आयोगमा समेट्ने जनाइएको छ ।
निर्वाचनका माध्यमबाट पार्टीका १८ पदाधिकारी छनोट गरिएकोमा पोलिटब्युरो सदस्य छनोटका लागि मतगणना जारी छ । परिणाम शुक्रबार बिहान सार्वजनिक गरिने जनाइएको छ ।




प्रतिक्रिया