सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकका परिवारलाई पनि औषधि उपचार

सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकका परिवारलाई पनि औषधि उपचार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले पनि अबदेखि औषधी उपपचार सुविधा पाउने भएका छन् ।

बिहिबारदेखि विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेलाको अवसरमा कोषले विस्तार गरेका सुविधाबारे श्रम, रोजगार तथा सामाजिकमन्त्री डोल प्रसाद अर्यालले औपचारिक घोषणा गरे ।

यसअघि २०७९ पुसबाट औपचारिक क्षेत्रका योगदानकर्ताका श्रीमान या श्रीमतीलाई औषधी उपचार सुविधामा समेटेको कोषले जेठ १७ देखि लागू हुने गरी अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले पनि औषधी उपचार सुविधा पाउने गरी कार्यविधि संशोधन गरेको हो ।

यससँगै अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका श्रीमान्, श्रीमती र १८ वर्ष उमेर नपुगेका छोराछोरीले वार्षिक १ लाख रुपैयाँसम्मको औषधि उपचार सुविधा पाउने छन् ।

कोषले अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई नै उपचार सुविधामा समेट्ने गरी तीन महिनाअघि नै कार्यविधि संशोधन गरेको र बिहीबारदेखि कार्यान्वयनमा ल्याएको निर्देशक उत्तमराज नेपालले जानकारी दिए ।

त्यस्तै, अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि कोषले उपचार सुविधा पाउन योग्य समायावधिलाई नौ महिनाबाट घटाएर तीन महिनामा झारेको छ । यसअघि कोषमा योगदान गर्न थालेको नौ महिनापछि मात्र उपचार सुविधाका लागि योग्य हुने व्यवस्था रहेकोमा अबदेखि तीन महिनाको नियमित योगदानपछि नै योग्य हुने गरी कार्यविधि संशोधन गरिएको निर्देशक नेपालले जानकारी दिए । ‘उपचार सुविधा पाउन योग्य हुने अवधि घटेको र परिवारमा समेत सुविधा विस्तार भएकाले नियमित योगदानका लागि थप अभिप्रेरित हुने विश्वास लिइएको छ,’ उनले भने ।